मिडनाइट सान्टा अभियान अन्तर्गत १५० जनालाई रीचाले बाँडिन ब्ल्याङ्केट

आज क्रिसमस । हिजो राती क्रिसमस इभ भन्दै सारा शहर मोज मस्तिमा थियो सायद । तर, त्यही भिडमा नायिका रीचा शर्मा भने काठमाडौंका विभिन्न ठाउँँका सडकहरु चाहर्दै थिइन् । उनी कुनै नशामा या रमाइलोको लागि भने सडकमा दौडिरहेकी थिइनन् ।

हाल काठमाडौंको मौसम चिसिएको छ । चिसो मौसमसँगै कठाङ्ग्रिदो जाडोले काम्दै सडक पेटी र पुल मुनी रात बिताउन विवश मानिसहरुलाई ब्ल्याङ्केट बाँड्दै थिइन् उनी । त्रिकोण ब्याण्ड, लायन्स क्लब अफ भिक्ट्री र अक्टेभ रेस्टुरेन्टको सहयोगमा उनिहरुले काठमाडौंको पशुपती जङ्गल क्षेत्र, नयाँ बसपार्क, बशन्तपुर, पाटन लगायतका स्थानको बाटोमा सुतिरहेका मानिसहरुलाई ब्ल्याङ्केट बाँडेका हुन् ।

सडकका सुत्न वाध्यमा बालक, युवा, बृद्ध त थिए नै त्यही भिडमा ४ महिनाको बच्चा बोकेर बोरा ओडेर पाटन पुलिस बिटसंगै सुतिरहेकी एक महिलाको अवस्था देख्दा निकै भाबुक भएको रीचाले बताइन् । ‘हामीले कुनै प्रचार प्रसारका लागि ब्ल्याङ्केट बाँडेका होइनौँ । कुनै संघ संस्थाको आँखा उनीहरुमा पर्ला र उनीहरुले राहत पाउलान भनेर हामीले फोटो तथा भिडियो सार्वजनिक गरेका हौँ’, रीचाले मेरोफिल्मसँग भनिन् ।

गत वर्ष देखि केही युवाको समूहले कठ्याङ्ग्रिदो जाडोमा न्यानो माया अभियानको सुरुवात गरेका थिए । यो वर्ष पनि त्यसलाई निरन्तरता दिएका हुन् । उनीहरुले मिडनाइट सान सान्टा अभियान अन्तर्गत १५० जना भन्दा बढी सडकमा रात बिताइरहेकाहरुलाई ब्ल्याङ्केट बाँडेका थिए । रीचासंगै यही समूहले अब जुत्ता र टोपी पनि निकट भविस्यमा वितरण गर्ने सोच बनाएको छ । समूहमा युवा अभियानता भावना राउत, सञ्जिला मगर, सिम्रन बुढाथोकी, गरिमा खड्का, रजिया बानु, जेसन वैद्य, प्रमोद लामिछाने, आशिष काफ्ले, गोमेश सिंह उप्रेती रहेका छन् ।