को हुन् ‘बुलबुल’का चोपेन्द्र ?

फिल्म ‘बुलबुल’ स्वस्तिमा खडकाका कारण घोषणा देखि नै चर्चामा छ । मेनस्ट्रिमका फिल्ममा दह्रो पाइला टेक्दै गरेकी स्वस्तिमा ‘बुलबुल’ मा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा । फिल्म पारखीलाई स्वस्तिमाको यही लगावले प्रभावित गरेको छ ।

तर, गीत र फिल्मको टिजर सार्वजनिक भएसँगै फिल्मका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन् । केही दिनअघि सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ । टिजर मार्फत चोपेन्द्र नामक पात्रको भूमिकामा देखिएका नायक मुकुन भुषाल र उनले बोलेको संवादको  चर्चा युट्युव लगायत सामाजिक सञ्जालमा हुन थालेको छ ।

मुकुन भुषाल फिल्मका लागि बिलकुल नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनय मै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए ।  उनले अध्ययनका क्रममा दर्जनौं छोटा फिल्ममा अभिनय गरे पनि ठूलो पर्दाको फिल्म भने ‘बुलबुल’ नै पहिलो हो ।

‘बुलबुल’को गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् निर्देशक विनोद पौडेल । उनले मुकुनले चोपेन्द्रलाई आफूले कल्पे जसरी नै उतारेको बताए ।

‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘ मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’

निर्देशक पौडेलको दाबीमा कति सत्यता छ त्यो हेर्न त फागुन ३ गते नै कुर्नुपर्नेछ । तर, अहिलेलाई भने यत्ति भन्न सकिन्छ, टिजरबाटै मुकुनले राम्रो सम्भावना भने देखाएका छन् ।