‘गोपी’ माथि कविता प्रतियोगिता

घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘गोपी’ट्रेलरसँगै थप चर्चामा छ । फरक विषय, प्रस्तुति र कलाकारको अभिनयका कारण फिल्मलाई धेरैले नोटिश गरेका छन् । स्वरोजगार र स्वालम्बनको विषयलाई उठाएको फिल्मले यही विषयलाई केन्द्रमा राखेर कविता प्रतियोगिताको घोषणा गरेको छ ।  आरोही इन्टरटेनमेन्टले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउने निर्माण टिमले जनाएको छ । यसैगरि निर्माताले प्रतियोगितामा जुनसुकै उमेरका प्रतियोगीले पनि कविता पठाउन पाउनेछन् ।सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ । सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बा बताउँछन् । कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पु¥याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ ।

गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामा अवगत गराउँछन् । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनले बताए । आरोही इन्टरटेनमेन्टले निर्माण गरेको गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ । सामीप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।