अर्पणको ‘घर’मा अट्लिन त ऋचा ?

नेपाली फिल्म क्षेत्रमा चर्चामा रहेको धेरै जोडी मध्यको एक हो अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा । उनीहरु प्रेममा रहेको चर्चा फिल्म वृत्तमा नचलेको पनि होइन । तर, उनीहरु स्वयमले भने आफुहरु राम्रो साथी रहेको बताउँदै आएका छन् । उनीहरु दुई मिलेर यसअघि हरर फिल्म सुनकेशरी निर्माण गरेका थिए जुन बक्स अफिसमा सफल हुन सकेन । फिल्मको असफलतासंगै यी दुई बिचको सम्बन्ध पनि चिसिएको चर्चा हुने गरेको छ ।

यी दुई मिलेर निर्माण गर्ने भनिएको फिल्म सुनकेशरी २ को कुनै अत्तो पत्तो छैन । यसैबिच अर्पणको निर्देशनमा बन्न लागेको फिल्म ‘घर’को बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणा गरियो । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो फिल्म पनि हरर जनरा मै बन्न लागेको हो र कथा पनि अर्पणले नै लेखेका हुन् ।

कार्यक्रममा निर्माण पक्षले फिल्मका लागि दुई नायिकाको खोजी भइरहेको बताएपछी थाहा भयो त्यस टिममा ऋचा भने छैनन् । ति दुई नायिका पुराना हुनेछन् या नयाँ अनुहार त्यो निर्माण पक्षलाई नै थाहा होला । तर, हालको लागि उब्जिएको प्रश्न वा कौतुहलताको विषय यही हो कि, के अर्पणको ‘घर’मा ऋचा अट्लिन त ? अर्को पाटोमा फिल्म वृत्तमा चलेको हल्ला अनुसार नै ऋचा र अर्पणको सम्बन्ध बिग्रिएको हो भने कतै ‘सुनकेशरी २’ का लागि लेखिएको कथामा फिल्म ‘घर’ बन्न लागेको त होइन ? प्रश्न यो पनि छ ।