चीनमा बजार खोज्ने, नेपालको अस्तव्यस्त ध्यान नदिने ?

चलचित्र निर्माता संघले बर्षमा २ वटा फिल्म मात्र भएपनि चीनको बजारमा रिलिज गर्न सकेको खण्डमा फाइदा हुने भन्दै पहल थालेको बताएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूले पहल थालेको बताएका छन् । बर्षमा एक सय वटा फिल्म बन्दा २ वटा फिल्म चीनमा पुग्दा फाइदा होला कि नहोला ? यो त पछि विश्लेषण गर्ने कुरा भयो ।

तर, चीनमा २ वटा फिल्म चलाउनका लागि पहल थालेको निर्माता संघले नेपालमै नेपाली फिल्म रिलिजको यो अस्तव्यस्ततालाई किन नजरअन्दाज गरेको होला ? आफूले बनाएको फिल्मको शेयर समयमा नपाएर निर्माता मरिरहेका छन् । वितरकले एउटा फिल्ममाथि अर्को फिल्म जुधाइदिएर हैरान बनाएका छन् । हलमा फिल्म लाग्दा सगरमाथा चढेको जस्तो सफलताको खुशी साट्नुपर्छ ।

मल्टिप्लेक्सले सौतानेको जस्तो व्यवहार गरेर फिल्म चलाइरहेको छ । यी सबै कुरा बुझेको निर्माता संघ यो कुरामा कानमा तेल हालेर बसेको छ । अनी अध्यक्ष आकाश अधिकारी चीनमा बजार खोजेर आए भनेर दंग छन् । चीनमा बजार खोज्दै गरुला के अध्यक्ष ज्यू, पहिले आफ्नै देशमा फिल्म ढुक्कले चलाउने वातावरण बनाइदिनोस् त ।

तपाइले चीनमा २ वटा फिल्म रिलिज गर्न सक्नु भयो भने तपाइको प्रशंसा होला, त्यो भन्दा बढी प्रशंसा नेपालमै फिल्म रिलिज व्यवस्थित गर्दा होला । होइन र ?