अदिती बुढाथोकी ‘हेलो जिन्दगी’मा अनुबन्धित

फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका अदिती बुढाथोकी एभरेस्ट सुर्य बोहोराको नयाँ फिल्म ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । बोहोराको निर्देशन् रहने फिल्म एभरेस्ट सुर्य बोहोरा फिल्म्सको सहकार्यमा बिरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

हाल फिल्मका लागि नायिका बुढाथोकी र निर्माण टिम बिच सम्झौता भइसकेको छ । फिल्ममा अन्य कलाकार को को रहनेछन् भन्ने बारेमा भने खबर बाहिरिएको छैन । फिल्मको छिट्टै औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ ।

बोहोराले यसअघी फिल्म ‘भैरे’ निर्माण गरेका थिए । लामो समय अमेरिका बसाई पछि नेपाल फर्केर उनले निर्माण तथा निर्देशन गरेको उक्त फिल्मले नेपाली बक्स अफिसमा भने कुनै जादु गर्न सकेन । फिल्म असफल भए पनि करोड क्लबमा प्रवेश गरेको भन्दै सफलताको केक काटेका बोहोराले यसै फिल्मबाट केही दिन अगाडि सम्पन्न ‘ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ मा उत्कृष्ट निर्देशकको अवार्ड समेत प्राप्त गरेका थिए । अब उनले निर्देशन् गर्न लागेको दोश्रो फिल्मले कस्तो छाप छोड्छ त्यो भने फिल्म प्रदर्शनमा आएपछी नै थाहा हुनेछ ।