‘नारायण गोपाल युवा संगीत पुरस्कार’ जङ्गमलाई

यस वर्षको ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कर’  युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको निर्णय अनुसार जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनले पुरस्कार राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

कोषद्वारा विसं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पुयाउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ । कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।