नेपालगन्ज म्युजिक फेस्टिभल सम्पन्न

नेपालको चर्चित गायकको प्रस्तुति माझ नेपालगञ्जले २०१९ लाई स्वागत गरेको छ । नेपालगञ्ज म्युजिक फेस्टिभलमा नेपालका चर्चित गायक राजेशपायल राई, कमल खत्रीलगायत आधा दर्जन गायकले आफ्नो प्रस्तुति राखेका थिए । सोमबार राती नमस्ते रिसोर्टमा म्युजिक फेस्टिभल आयोजना भएको थियो ।

मध्य पुसको राति गायक राजेश पायल राईले प्रस्तुति दिँदा वातावरण एकाएक तातियो । उक्त कार्यक्रममा राजेशसँगै कमल खत्रीको साथै नेपाल आइडल १ का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति दिए । हाँस्यव्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हँसाए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए । फेस्टिभलमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनी प्रमुख निरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल लगगायतका उपस्थिति थियो । उक्त फेस्टिभल बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको हो ।

कार्यक्रममा ढाका टोपी दिवसको अवसरमा नेपाली ढाका टोपी लगाइएको थियो । कलाकारदेखि दर्शकहरुले उक्त टोपी लगाए । यसले नेपाली ढाका टोपीको प्रचारप्रसार भएको आयोजक समिर बलामीले जनाए । फेस्टिभल अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा गरिएको थियो । नेपालगञ्जमा शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा उक्त कार्यक्रम भएको हो । बलामी फिल्म इन्टरटेन्टमेन्टले यससँगै देशभर ६ वटा कार्यक्रम गर्ने आयोजक प्रमुख बलामीले बताए । कार्यक्रममा १५ वर्षदेखि ६० वर्षसम्मका दर्शकलाई लक्षित गरिएको थियो । कार्यक्रम सोमबार साँझ ४ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो ।