मैले ‘ब्याचलर बन्टी’ छोडें – अनमोल केसी

रिलिज मिति सार्वजनिक भएपछि अनमोल केसीले फिल्म ‘ब्याचलर बन्टी’ छाडेका छन् । केही दिनअघि मात्र निर्माता मध्येका एक सुदिप खडकाले अनमोलसँगको फोटो फेसबुकमा राख्दै भदौ १३ मा फिल्म प्रदर्शनमा आउने घोषणा गरेका थिए । सोही फोटो सार्वजनिक भएसँगै अनमोलले नगर्ने भनेको फिल्म गर्ने आसयमा समाचार आएका थिए । तर, यो प्रकरणको साता दिन नबित्दै अनमोलले मेरो फिल्मसँगको कुराकानीमा फिल्म छाडेको बताए ।

‘मैले फिल्म साइन गरेको पनि हो । स्क्रिप्ट पनि पढेको हो । तर, फाइनल ड्राफ्टमा मेरो जुन क्यारेक्टर देखियो, त्यसमा मैले आफुलाई ढाल्न नसक्ने देखेँ । त्यही भएर मैले फिल्म छाड्ने निर्णय गरेको छु । उहाँहरुले बनाउनु भएको फिल्मको कथामा मेरो कुनै आपत्ती छैन । तर म आफु नै आफ्नो क्यारेक्टरमा कन्भिन्स हुन सकिन त्यसैले आफसी सहमतीमा नै मैले फिल्म छाडेको हुँ । केही दिनमा सम्झौता र साइनिङ अमाउन्ट फिर्ता गर्छु’, अनमोलले मेरो फिल्मसंगको टेलिफोन वार्तामा भने ।

अनमोलले साइनिङ अमाउन्ट वापत १० लाख लिएका थिए । बाहिर ५० लाखमा फिल्म साइन गरेको हल्ला चले पनि अनमोलले यो फिल्म ४० लाखको हाराहारीमा सम्झौता गरेका थिए ।

श्रॊतका अनुसार केही दिनअघि भएको निर्माता सुदीप खड्कासँगको भेटमा अनमोलले निर्माण टिमले आफूखुसी नाम र हिरोइन छनोट गरेको भन्दै आपत्ति जनाएका थिए । उनले निर्माता खड्कालाई स्क्रिृप्ट चेन्ज गरे, आफु अझै फिल्म खेल्न तयार रहेको पनि बताएका थिए । तर, निर्माता सुदीपले अनमोलको कुरा निर्देशक मिलन चाम्स र लेखक प्रदीप भारद्धाजलाई कन्भिन्स गर्न सकेनन् । अनमोलका लागि स्क्रिृप्ट हेरफेर गर्न चाम्स र भारद्धाज तयार नभएपछि अन्ततः अनमोलले फिल्म छाड्ने घोषणा गरेका हुन् ।

समाचारमा अनमोलले ब्याचलर बन्टी गर्न लागेको खबर मिडियामा सार्वजनिक भएपछि चाम्सले आफ्नो फिल्म वीर बिक्रम २ को गीत सार्वजनिक गर्ने अघिल्लो रात फेसबुकमा स्ट्याटस लेख्दै सुदीप र अनमोलको विषयमा भएको सम्झौताका विषयमा आफु अनभिज्ञ रहेको आसयको स्ट्याटस लेखेका थिए । भोलिपल्ट कार्यक्रममा पनि उनले केही पत्रकारले नचाहिँदो समाचार लेखेको भन्दै श्राप दिने धम्की दिएका थिए । तर, अनमोलले फिल्म छाडेपछि मिलनको श्राप आफैंलाई त लागेन भन्ने चर्चा स’रु भएको छ ।

चाम्सले लिलीबिलीमा पनि पहिला प्रदीपको साटो अनमोलललाई लिन चाहेका थिए । त्यो समयमा पनि अनमोलले कथामा दम नभएको भन्दै फिल्म रिजेक्ट गरेका थिए ।