पलसंग नछुट्टिएकी आँचल

एक समय थियो जब नायक पल शाह र नायिका आँचल शर्मालाई आँप जोडीको उपमा मिलेको थियो । यि दुई एक अर्काका परिपुरक जस्तै बनेका थिए भन्दा फरक नपर्ला । तर पछिल्लो समयको अवस्था त्यस्तो छैन । पल आफ्नो बाटो लागेका छन् भने आँचल आफ्नै बाटोमा ।

पल र आँचलले एक अर्का बिना कुनै पनि प्रोजेक्ट गर्दैनन् भन्नेहरुको पनि कमी थिएन फिल्मी बजारमा । तर त्यो सब एकादेशको कथा जस्तै भएको छ आजभोली । पल फिल्म ‘वीर विक्रम २’ मा ब्यस्त छन् भने आँचल फिल्म ‘दाल भात तरकारी’मा । उनीहरुले फिल्म शत्रु गतेमा सँगै काम गरेपछी केही म्युजिक भिडियोमा एकसाथ काम गरे । त्यसपछी आफ्नो हठ त्यागेर दुवै जना आ-आफ्नो बाटो लागेका छन् । यि दुईलाई सँगै हुँदा पनि सुख थिएन र छुट्टिँदा पनि सुख छैन । एक अर्काका बारेमा यि दुवैले पत्रकारहरुको प्रश्नको सामना गर्दै आएका छन् ।

सोमवार काठमाडौंमा फिल्म ‘हृदयभरी’को औपचारिक घोषणा कार्यक्रममा उपस्थित भएका पल शाहलाई त्यस्तै भयो । उनलाई सोधिएका अधिकांश प्रश्नमा आँचल जोडीएकी थिइन् ।  पल र आँचलले एक अर्का बिना कुनै पनि प्रोजेक्ट गर्दैनन् भन्ने हल्लाको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै पलले भने, ‘यो सब केही हल्ला होइन । तपाईँहरु आँफै आफ्नो मनमा सोच्नु हुन्छ यस्तो होला भनेर अनि त्यसलाई हल्ला छ भन्नु हुन्छ । त्यो तपाँहरुले सुनेको हल्ला होइन कि तपाईँहरुको मनगणन्ते विचार हो । त्यसैले तपाईँहरुको त्यो प्रश्न तपाईँहरुसंग नै राख्नुस्’ । आँप जोडी भएर पाएको चर्चा पछिल्लो समय आ-आफ्नै बाटोमा लाग्दा नमिलेको हो भन्ने एक पत्रकारको प्रश्नको जवाफ पलले राम्रो संग दिन सकेनन् । उनले मलाई त्यस्तो लाग्दैन मात्र भने ।

प्रश्न यतिमै मात्र सिमित थिएन । सुदर्शन थापाको निर्देशन रहने फिल्ममा पल मुख्य भूमिकामा रहने चर्चा थियो । तर हाल उनी उक्त फिल्ममा नहुने पक्का भइसकेको छ। यसको पछाडिको कारण आँचल र पुजा शर्मा बिचको झगडा हो भन्ने एक पत्रकारको जिज्ञासामा पलले जवाफ दिँदै भने, ‘त्यस्तो होइन । काममा यो, त्यो, यसको, उसको कारणले भन्ने हुँदैन । हिजो पनि म सुदर्शन थापाले माया गरेको भाई हुँ, आज पनि उत्तिकै माया गर्नुहुन्छ । कसैको कारण भन्दा पनि टाइमिङ नमिलेर हो । यी प्रतिनिधी प्रश्न मात्र हुन् जुन् पललाई सोधिएका थिए । उनले अधिकांश प्रश्नको घुमाउरो जवाफ दिएका थिए ।

पललाई मात्र होइन आँचललाई समेत पलको नाम जोडेर प्रश्नको ओइरो लाग्ने गरेको छ । यी दुईले नै हरेक पटक घुमाउरो जवाफ दिँदै आएका छन् । उनीहरुले ती प्रश्न इग्नोर गर्न पनि सकेका छैनन् । आखिर पल र आँचलले एक-अर्काको बारेमा कहिले सम्म सवाल जवाफ गर्नु पर्ला ? अनी घुमाउरो जवाफ कहिले सम्म देलान् ?