‘समर लभ’ हेरौँ थाइल्याण्ड घुमौँ

माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘समर लभ’ हेर्ने दर्शकले थाइल्याण्ड घुम्न पाउने भएका छन् । फिल्म निर्माण यूनिटले दिएको जानकारी अनुसार फिल्म हेरेका दर्शकहरु मध्यबाट लक्की ड्र गरी एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गरिनेछ ।

फिल्मको गीत तथा ट्रेलर आफ्नो फेसबुकमा शेयर गरेका र फिल्म हेरेका दर्शकले मात्र यो अवसर प्राप्त गर्ने छन् । फिल्मकी निर्मात्री इन्दु भण्डारीका अनुसार यदी कुनै दर्शकले फिल्मको गीत र ट्रेलर शेयर गरेका छैनन् भने लक्की ड्रमा परेपनी सो अवसर पाउने छैनन् । छनोट भएका एक दर्शकले अर्का एक जना साथीलाई थाइल्याण्ड लान पाउनेछन् ।

हाल फिल्म निर्माण यूनिट फिल्म प्रचार प्रसारका लागि मोफसल यात्रामा रहेको छ । सोमबार चितवनबाट सुरु भएको मोफसल प्रचार यात्राा नेपालगञ्ज, दाङ, बुटवल, हेटौडा, धरान, इटहरी, दमक, विर्तामोड हुँदै पोखरा पुग्नेछ ।

फिल्ममा डेब्यु नायक आशिष पिया र डेब्यु नायिका रेवती क्षेत्रीसँगै अभिनेत्री नम्रता सापकोटा, सुरज सिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी लगायतको मुख्य भूमिका रहेको छ । सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ ।

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्ममा सुबिनकै कथा रहेको छ भने सामीप्यराज तिमल्सेनाले पटकथामा रुपान्तरण गरेका हुन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको संयुक्त निर्माण रहेको फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।