बिपिनले भेटे चितवनका ‘गोपी’

नाम उही , पेशा उही । अनि भोगाइ पनि उही । फिल्मको दृश्य झैं नाटकीय लाग्ने यो संयोग थियो पर्दाका गोपी र असली गोपीको भेटको । पर्दाका ‘गोपी’ अर्थात् बिपिन कार्की र चितवनमा फिल्ममा झैं गाई व्यवसाय गरिरहेका गोपी ढकालको ।

आउँदो माघ १८ बाट प्रदर्शन हुन लागेको फिल्म ‘गोपी’को प्रचारका लागि मोफसल यात्रामा निस्किएका बिपिन कार्कीले जब पर्दामा आफूले निर्वाह गरेको गोपीलाई साँच्चिकै भेटे, संयोग देखेर दंग परे । बिपिनभन्दा कम दंग थिएनन् चितवनको ठूलोगड्डीमा गाइफर्म सञ्चालन गरिरहेका गोपी ढकाल पनि । केही समयअघि फिल्मको ट्रेलर र पोस्टर हेरेर कसैले आफ्नै कथामा फिल्म बनाए छ भन्ने लागेको गोपी ढकालले जब कलाकार बिपिन कार्कीकै मुखबाट प्रत्यक्ष फिल्मको कथा सुने, उनलाई पनि भन्न करै लाग्यो, ‘अरे, यो त ठ्याक्कै मेरै कथामा बनेको रहेछ ।’

फरक चरित्रमा उम्दा अभिनयले दर्शक चकित बनाउँदै आएका बिपिनले नयाँ फिल्म ‘गोपी’मा गाई पाल्ने युवाको भूमिका निर्वाह गरेका छन् । फिल्मले विदेश जाने विकल्प त्यागेर देशमै केही गर्न खोज्ने युवाको सोचलाई प्रतिनिधित्व गरेको छ । यसका लागि व्यवसायिक गाई पालन पेशा रोजेको पात्रले यो क्रममा खेप्ने संघर्षलाई फिल्ममा मुख्य विषय बनाइएको छ । चितवन जिल्लाकै ठूलो गाईफर्मको रुपमा चर्चित गोपी ढकालको गाई फर्मको यात्रा पनि फिल्मको ट्रेलरमा देखाए जस्तै छ ।
‘मैले पनि बाबुबाट पाएको दुई कठ्ठा अंशमा दुई तीनवटा गाईपालेर फार्मको सुरुवात गरेको हुँ । पछि बैंकबाट ऋण लिएर राम्रै संख्यामा गाई पालें । तर, मलाई त्यो बेला ५०—६० लाख घाटा लाग्यो । तर, हिम्मत नहारेर यसैमा लागें । आज मेरो फर्म चितवनको सबैभन्दा ठूलो प्राइभेट फर्मको रुपमा जिल्लाभरि चर्चित छ,’ गोपी ढकालले शनिबार फिल्मका कलाकारलाई फार्मको यात्रा छोटकरीमा सुनाए ।

ढकालको गाई फर्ममा ओजभोलि सय वटाभन्दा बढी गाई छन् । केही भैंसीसमेत पालेका उनले आफ्नै फर्मबाट मात्र करिब साढे सात सय लिटर दुध उत्पादन हुने गरेको सुनाए । यसरी उत्पादन भएको दुध उनले सहकारी वा डिडिसीलाई नदिई सिधै बजारमा पठाउने गरेका छन् । यसबाट करिब १० रुपैंया बचत हुने गरेको उनले सुनाए । फार्ममा उनले ११ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने पूरा परिवार यसैमा संलग्न छ ।

गोपी ढकालले फिल्मको पोस्टर हेरेर आफूलाई फिल्मको बारेमा थाहा पाएको बताए । ‘मलाई भाइ छोराले फिल्मको पोस्टर देखाए । नाम पनि मेरै थियो र गाई पनि देखें । पोस्टर हेरेरै एक खालको अपनत्व महसुस भयो । पछि ट्रेलर हेरेपछि त झनै आफ्नै कथामा फिल्म बनेको जस्तो लाग्यो,’शनिबार उनले गोपीका कलाकार बिपिन कार्की र वर्षा राउत सामु भने ,‘कलाकार घुम्न आउने रैछन् भने यता बोलाओ है भनेको थिएँ । नभन्दै हाम्रो निम्तो स्वीकारेर आउनु भयो, एकदमै खुशी लाग्यो । जिन्दगीमा आजसम्म हल टेकेको छैन । नेपाली हिन्दी कुनै पनि फिल्म हलमा गएर छैन । पहिलो चोटि आफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ । ’

अभिनेता बिपिन कार्कीले ‘गोपी’को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले फिल्मको कथा मेरै जस्तो जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् । ‘तर, उहाँको कथा र फिल्मको कथामा शतप्रतिशत समानता भेटें,’ बिपिनले भने, ‘ तर, फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।’

दुई गोपीको वार्तालापको साक्षी बसेकी अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘ हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो फिल्मले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ,‘उनले भनिन्, ‘फिल्मले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै नगरेकालाई पनि केही गर्न आँट दिन्छ । उहाँ जस्तो जिन्दगी हल नटेकेकालाई पनि हलसम्म पुर्याउनु पनि यो फिल्मको सफलता हो । हामीले यसरी नै हाम्रै कथामा फिल्म बनायौं भने मात्र नयाँ दर्शक पाउँछौं ।’

माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।