बर्षाले पाइन् बुटबलमा दुलही हुने शुभकामना

फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फलो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।

‘वर्षा दिदी हामी जस्तो धेरैको आदर्श हुनुहुन्छ । उहाँ नयाँ जीवन सुरु गर्न गइरहनु भएको छ । त्यसैले हामीले ब्राइड टु बि गर्ने प्रस्ताव राखेका थियौं जुन उहाँले सहर्ष स्वीकार्नु भयो । उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन् ।
वर्षाले ममता जस्तै देशभरका फ्यानको समूह रहेको र उनीहरुले विवाहको खबर सार्वजनिक भएसँगै ब्राइड टु बि गरौं है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको बताइन् ।

‘उहाँहरुको मायाले नै म यहाँ छु । म बुटबल आउँदैछु भन्ने थाहा पाएदेखि नै उहाँहरुले हामी यस्तो कार्यक्रम गर्छौं है भन्नु भएको थियो । यसलाई मैले उहाँहरुले दिएको शुभेच्छाको रुपमा बुझेको छु । उहाँहरुको आशिर्वाद लागोस्,’ वर्षाले भनिन् ।

फिल्मको ‘गोपी’को प्रचार गर्ने क्रममा वर्षाले फिल्मको पटकथा तथा चरित्र मन परेका कारण फिल्ममा अभिनय गरेको फिल्म दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् । यसै गरी वर्षाले विवाह पछि पनि अभिनयलाई निरन्तरता दिने बताएकी थिइन् ।

‘म जुन घरमा विवाह गरेर जाँदैछु त्यो घरले कलाकारिताको मर्म मैलेभन्दा राम्ररी बुझेको छ । मलाई मन लागुञ्जेल अभिनयमा सक्रिय रहनेछु,’ वर्षाले भनिन् ।

वर्षाले अभिनेता तथा व्यवसायी सन्जोग कोइरालासँग फागुन २ मा भ्यालेन्टाइन डेको दिन विवाह गर्दैछिन् । दुवैले सामाजिक सञ्जालमार्फत् विवाहको घोषणा गरेका थिए । उनीहरु करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।