नजन्मिएकी छोरीको नाममा प्रियंका र आयुष्मानले खोले फाउण्डेसन

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आफ्नो शरीरमा एउटै ट्याटू खोपेका छन् ‘आयंका’ । सम्भवत सबैलाई जानकारी छ त्यो उनीहरुले आफ्नो पहिलो सन्तान छोरी हुने र छोरीको नाम आयंका राख्ने बताउँदै आएका छन् । केही समय अगाडि उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेका छन् र आगामी वर्षको असार महिनामा विवाह गर्ने बताएका छन् ।

उनीहरुको चाहाना पनि छ पहिलो सन्तान छोरी नै जन्मियोस् भन्ने । असारमा विवाह गर्ने उनीहरुको पहिलो सन्तान के जन्मन्छ त्यो त थाहा छैन तर उनीहरुले आयंकालाई भने जन्म दिएका छन् । आयंका उनीहरुको पहिलो सन्तान त होइनन् तर उनी नजन्मँदै उनको नाममा फाउण्डेसनको भने सुरुवात भएको छ । उनीहरुले ‘आयंका फाउण्डेसन’को औपचारिक घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फाउण्डेसनको शुभारम्भ गरिएको हो । फाउन्डेशनको मुख्य सल्लाहकारमा सरोज ओली छन् ।

‘आयंका फाउण्डेसन’ले विशेषत छोरीहरुलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफु पनि एक छोरी रहेको र छोरीको पिडा महसुस गर्न सक्ने भन्दै फाउण्डेसनले छोरीहरुलाई बढी प्राथमिकतामा राखेको बताइन् । यद्यपी फाउण्डेसनले सम्पुर्ण वर्गलाई समेट्नेछ । कार्यक्रममा बोल्दै अभिनेता आयुष्मान देशराज जोशीले महिला हुनुको पिडा आफुले अनुभूत गर्न नसके पनि पुरुष भएर महिलालाई हेर्ने नजरबाट आफु परिचित रहेको भन्दै आम नागरिकमा भएको नकारात्मक सोचलाई निर्मुल पार्न आफु लागि पर्ने बताए ।

उनीहरुका अनुसार फाउण्डेसनले महिनावारी, यौन शिक्षा, बालबिबाह, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श, अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका कार्यहरु गर्ने जानकारी दिइयो । यस्तै, सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि यसैसँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ ।

उनीहरुले फाउण्डेसनको पहिलो कार्य काभ्रे जिल्लाबाट सुरु गर्दै छन् जहाँ उनीहरुले प्याड वितरण कार्यक्रम राखेका छन् । त्यहाँका स्कुलमा अध्ययन गर्ने किशोरीहरुलाई मध्यनजर गर्दै प्याड वितरण गरिने अभिनेत्री कार्कीले बताइन् । सोही कार्यक्रममा बोल्दै अभिनेत्री कार्की र अभिनेता जोशीले अब आइन्दा आफ्नो कमाईको १० प्रतिशत रकम फाउण्डेसनका लागि प्रयोग गर्ने बताए । उनीहरुले देश विदेशमा गर्ने हरेक स्टेज कार्यक्रम, फिल्म, भिडियो, विज्ञापन लगायतबाट हुने आफ्नो कमाईको १० प्रतिशत फाउण्डेसन राख्ने छन् । ‘आयांका फाउण्डेसन एक्लैले पक्कै सबै चिज गर्न सक्दैन त्यसैले सम्बन्धित कार्यमा सम्बन्धित निकाय, संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने छ’, अभिनेत्री कार्कीले भनिन् ।