‘समर लभ’को ‘हेरन बाँझो मनभरी’

फिल्म ‘समर लभ’ यहि माघ २५ बाट प्रदर्शनको लागी तयार छ । रिलिज मिति दिन प्रतिदिन नजिकिँदा निर्माण टिम कलााकरको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै छ । पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ ।

टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको छ । पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।

यो बीचमा फिल्ममा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

मुस्कान ढकाल निर्देशित फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह- निर्माता हुन् । फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् ।

सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मको ट्रेलरसँगै यसअघि सार्वजनिक ‘साया’ बोलको गीतले उत्कृष्ट हाइप बनाइसकेको छ, सामाजिक सञ्जालमा लोकप्रियता बढ्दो हुँदा निर्माण टिम उत्साहित छ । उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।