पोखराका कृषकसँग ‘गोपी’

माघ १८ देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म‘गोपी’ले विषय लक्षित दर्शकसँग अन्तक्र्रिया र अनुभव आदान प्रदान गर्दै फरक तरिकाले फिल्मको प्रचार गर्दै आएको छ । यही क्रममा चितवन ,बुटबल हुँदै पोखरा पुगेको फिल्मको टोलीले मंगलबार बिहान पोखराको बाटुलेचौरमा रहेको चमेरे गुफा कृषि सहकारी संस्था र मिलीजुली कृषि फर्ममा आबद्ध किसानसँग अन्तक्र्रिया गरेको छ । फिल्मका कलाकार बिपिन कार्की र बर्षा राउतले फिल्म ‘गोपी’ले पहिलो पल्ट किसानलाई केन्द्रमा राखेर कथा भन्ने प्रयत्न गरेको जानकारी गराउँदै फिल्मप्रति ऐक्यवद्धता जनाउन आग्रह गरेका थिए । अभिनेता बिपिन कार्कीले फिल्ममा अभिनय गरेपछि व्यवसायिक कृषि तथा पशुपालनका समस्यासँग थप परिचित भएको बताउँदै आफूले किसानको आवाज सरकारसम्म पुर्याउने वचन दिएका दिए ।

‘हुन त म पनि किसानकै छोरा हुँ । कृषकका समस्यासँग अपरिचित छैन । तर, व्यवसायिक कृषि तथा पशुपालन गर्दा झन् धेरै चुनौती रहेछन् । सरकारले कृषिमा रोजगारको अवसर सिर्जना गर्न चाहेको हो भने यो क्षेत्रका समस्यालाई थप गम्भीर भएर हेर्नुपर्छ,’ उनले भने, ‘हामीले फिल्मको माध्यमबाट यो क्षेत्रका यस्तै चुनौती भन्ने प्रयास गरेका छौं । यसमा सरकारको ध्यान जान्छ कि भन्ने अपेक्षा छ ।’ कार्यक्रममा मिलीजुली कृषि फर्मका अध्यक्ष कृष्ण अधिकारीले आफ्नो समूहले ७० वटा गाई पालेको र दिनहुँ ४ सय लिटर दुध उत्पादन गर्ने गरेको जानकारी गराएका थिए । उनले कृषि प्रधान देशमा पहिलो पल्ट कृषि सम्बन्धि समस्यामा फिल्म बनेको कुराले आफूहरूलाई खुशी लागेको बताउँदै फिल्म हेरेर प्रतिक्रिया दिने वाचा गरेका थिए ।

अभिनेत्री बर्षा राउतले फिल्म ‘गोपी’ ३ करोड जनताको आफ्नै कथामा बनेको फिल्म बताउँदै फिल्म पशुपालन गर्ने र नगर्ने दुबैले उत्तिकै हेर्नुपर्ने फिल्म बनेको बताएकी थिइन् । ‘यो पेशामा संलग्नले त फिल्म हेर्नुपर्छ नै । नभएकाले पनि उहाँहरूले कुन दुःखले यो व्यवसायलाई गरिरहनु भएको छ भन्ने थाहा पाउन यो फिल्म हेर्नुपर्छ,’ ‘ तर हामीले यही कुरालाई रमाइलो गरी प्रस्तुत गरेका छौं । फिल्म हेर्दा मनोरञ्जन पनि उत्तिकै पाउनु हुन्छ ।’ फिल्मको टिममा लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता पनि थिए । टिमले चितवनमा पनि यसैगरी गाईपालक किसानसँग भेटघाट गरेको थियो । देशमै बसेर केही गरौं भन्ने सन्देश समेटिएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, अंकित खड्का, भोला सापकोटा आदि कलाकारको पनि अभिनय रहेको छ ।