संगीतकार नीम संगीतको ‘प्रेमको हत्यारा’ गीतिसंग्रह सार्वजनिक

संगीतकार नीम संगीतको ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह सार्वजनिक भएको छ । २०६० सालमा अमर प्रेम एल्बम लिएर आएका नीम संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) बजारमा ल्याएका हुन् । यही बीचमा पनि विभिन्न सर्जकहरुको एल्बममा एकल संगीत दिएर कृयाशील रहँदै आएका नीम संगीतले आफ्नै लगानीको एल्बम भने यो दोस्रो भए पनि उनको एकल संगीत रहेको एल्बम भने पाँचौं । म त मर्छु क्यारे तिमी धेरै वर्ष बाँच बोलको गीतबाट चर्चा बटुलेका नीम संगीत यतिखेर बजारमा आएको गीतिएल्बम प्रेमको हत्याराबाट निकै आशावादी रहेका छन् ।
एल्बममा प्रेमको हत्यारा, मेरो मृत्युको खबर, तारिफ गरुँ कसरी, हर रातको सपनीमा, भूल गरें, म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो माया जस्ता ८ वटा गीतहरु समावेश गरिएका छन् । उक्त गीतहरुमा सेन्चुरी सुरेश घमाल, घनश्याम गौतम, लक्ष्मण पाण्डे, युगज्योति क्रियाशील, भास्कर काजी, नीम संगीत, सनत अन्जान, शरण सेन्चुरीको शब्दरचना रहेको छ । जसमा प्रमोद खरेल, स्वरुपराज आचार्य, गगन सरगम, अन्जु पन्त, शिव परियार, सुधारत्न, सुजन सरगम, रजिना रिमालको स्वर रहेको छ ।