वरिष्ठ कलाकार बीएस राणाको निधन

नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा काठमाडौँ स्थित टिचिङ अस्पतालमा निधन भएको हो ।

उनले दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका थिए ।

कलाकारका रुपमा चिनिएका उनी बहुआयामिक व्यक्तित्व थिए । बेलायतबाट एमबीए गरेका उनले लामो समय काठमाडौंका धेरै स्कुल र कलेजमा अंग्रेजी शिक्षक र प्रिन्सिपल भएर बिताएका थिए । श्री ३ पद्मशम्शेर जबराका नाति बीएस राणाको पूरा नाम वेदेन्द्रशम्शेर जंगबहादुर राणा हो ।