बुलबुलको ‘जाद्रै बस्यो दिल’

हलमा प्रदर्शनको दुई साता बाँकी रहदा फिल्म ‘बुलबुल’ले ‘जाद्रै बस्यो दिल’बोलको गीत सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो ।

नयाँनयाँ प्रचार शैली अवलम्बन गर्दै आएको ‘बुलबुल’ टोलीले पहिलो गीत ‘मायाओई ओई’ पनि दर्शकहरुकै माझमा गएर कलाकारहरुलाई नचाउँदै सार्वजनिक गरेको थियो । सार्वजनिक गीतमा पीडाको भाव अभिव्यक्त गर्ने मर्मस्पर्शी शव्दहरुको संयोजन गरिएको छ । गीतको दृश्यमा कहिले सडकमा हिंडदै गरेकी र पानीमा रुझ्दै गरेको देखिएकी अभिनेत्री स्वस्तिमा खडकाको जीवन्त अभिनय झल्किन्छ ।

सो कार्यक्रममा बोल्दै फिल्मका निर्देशक विनोद पौडेलले फिल्मले समाजको एक वर्गको जीवन जस्ताको तस्तै पस्कने प्रयास गरेको बताए । ‘फिल्मलाई हामीले सधैं आदर्शको भारी बोकाउँदै आएका छौं । यसलाई कलाको माध्यमको रुपमा मात्र लिइनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले बजारमा संवाद छाडा भएको आरोपको खण्डन गर्दै भने, ‘ दुई तीन महिना यो विषयमा अनुसन्धान गरेर मात्र यस्को कथा तयार गरेका हौं । संवाद वा दृश्य कुनै पनि कुरा मन गढन्ते छैनन् ।’ उनले फिल्मले कुनै सन्देश,शिक्षा वा निष्कर्ष नदिने बताउँदै सोही मनस्थिति बोकेर हलमा जान अनुरोध गरे । फिल्म निर्माता अविरल थापाले चलचित्रले मौलिक फिल्म भएन भनेर गुनासो गरिरहेका दर्शक र फिल्म समीक्षकको पनि परीक्षा लिने बताए ।

सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द संकलन, उदगम परियारको संगीत र रजिना रिमालको स्वर रहेको छ । बुलबुल फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्टराई लगायतको अभिनय छ । अविरल थापा लगायतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । फिल्म फागुन ३ गतेदेखि देशैभर प्रदर्शन हुँदैछ ।