निर्देशक बस्नेतको ट्रेन्ड ब्रेकर फिल्मको प्रतिक्षामा दर्शक

सफलताको कथा पछाडी जो सुकैको पनि असफलता र संघर्षको कथा रहेकै हुन्छ । फरक यति हो कसैको संघर्ष कम हुन्छ त कसैको बढी । अन्तिम विकल्पका रुपमा फिल्म ‘लुट’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेत एकाएक चर्चाको सिखरमा पुग्न सफल भए । पुरानो धारमा चलिरहेको फिल्म निर्माणको ट्रेन्ड बदलेर नेपाली फिल्म निर्माणको क्षेत्रमा कायापलट नै गरिदिए । केहि जमातको टिप्पणीका बावजुद उनलाई नेपाली फिल्म क्षेत्रले लामो समय सम्म सम्झिने काम उनले गरेका छन् ।

फुटबल खेलाडी बन्ने चाहना, गायक बन्न गरेको तयारी सबैलाई पाखा लगाउदै अस्ट्रेलिया बस्दा हेरेको एउटा फिल्मबाट प्रेरित भइ अन्तिम विकल्प भनेर गरेको कामले नै उनलाई स्थापित बनाउन सफल भयो ।

‘आफुलाइ निर्देशक भन्न रुचाउछु’ भन्ने निर्देशक बस्नेतले आज भोली आफ्नै कुरा बिर्सिएका झैँ लाग्न थालेको छ । फिल्म लुटको सफलतासंगै उनले फिल्म टलक जंग भर्सेस टुल्के र लुट २ निर्देशन गरे । फरक धारका भनिए पनि यी दुई फिल्म लुटको तुलनामा चर्चामा आउन सकेनन् ।

संघर्षको कुरा गर्दा उनले फुटबलको लागि भनेर धेरै रंगशाला दौडिए । तर नयाँ खेलाडीको केहि हुन्छ भन्ने कुराबाट बिश्वास उडेपछी उनी आफ्नो दोश्रो रहर गीत संगीत तर्फ लागे । गीतको बिषयमा उनी आफैले भनेका छन्, पहिले कम्पोज गरेको गीत सुन्दा अहिले सम्म कमाएको इज्जत सबै गुमाउछु भनेर । तर अहिलेको अवस्थालाई हेर्दा निर्देशक बस्नेत गायक बनेर रहर पुरा गर्दै छन् सायद । उनले काले दाई, ठमेल बजार लगायत गीत पनि गाए र चर्चा पनि कमाए ।

रुची धेरै बिषयमा हुन सक्छ तर सफलता सबैले सबै बिषयमा पाउन सक्छन् भन्ने हुदैन । निर्देशक बस्नेत गायनमा सफल भए,  अभिनय पनि जोडदार छ उनको, उनी अभिनित म्युजिक भिडियो पनि चर्चाको शिखरमा पुग्न सफल छ । तर उनी आफुले आफुलाई चिनाउन चाहने निर्देशनमा पछी सर्न थालेका छन् ।

‘म क्रिएटिभ काम गर्न चाहन्छु पैसा केहि हैन’ भन्ने निर्देशक बस्नेतले अभिनय तथा साइन गरेका फिल्मको लिस्ट हेर्दा उनी पैसाको पछी समेत लागेका त हैनन् ? भन्ने अवस्था आएको छ । उनी फिल्म निर्देशनमा डराएका छन् सायद । त्यसैले त भन्दै छन्, एक वर्ष सम्म फिल्म निर्देशन नै गर्दिन । तर उनले यो कुरा बुझ्न जरुरि छ कि उनी फिल्म निर्देशन कै लागि जन्मिएका हुन् ।

बिगत केहि बर्षलाइ नियाल्ने हो भने नेपालमा कमेडी फिल्मको बाढी आएको छ । लुट अगाडीका फिल्म झैँ अहिले पनि एकै किसिमका फिल्महरु बन्न थालेका छन् । नेपालि दर्शकले नयाँ स्वाद चाख्न चाहिरहेका छन् । नेपाली फिल्म क्षेत्र र दर्शकका लागि उनले लुटजस्तै ट्रेन्ड ब्रेकर फिल्म दिन जरुरी छ ।
तस्विर : निश्चल बस्नेतको फेसबुकबाट