बरु, सुवेक्षाले ऐश्वर्यबाटै डेब्यू गरेको भए हुन्थ्यो कि ?

फिल्म ऐश्वर्यबाट डेब्यू गरेपछि अभिनेत्री दिपिका प्रसाइको भाग्य चम्कियो । उनले आफ्नो चम्किएको भाग्यलाई सम्हाल्न सक्नेछिन् या सक्नेछैनन्, थाहा हुँदै जानेछ । ऐश्वर्य फिल्मले नै उनलाई छक्का पन्जा ३ जस्तो ब्लकबस्टर फिल्म दिएको छ । यो फिल्म हिट भयो र दिपिकालाई पनि फाइदा भयो ।

तर, ऐश्वर्य फिल्मको पहिलो रोजाई दिपिका थिइनन् । यो फिल्मको पहिलो रोजाई सुवेक्षा खड्का थिइन् । तर, सुवेक्षाले फिल्ममा आफू मात्र हाबी भएर काम नहुने भन्दै नगरेको पनि बताइन् । पहिलो फिल्म खेल्नका लागि सुवेक्षालाई केही बर्ष लाग्यो ।

उनले, आफ्नो भूमिका पनि र अरु सबैको भूमिका पनि राम्रो भएको भन्दै रणवीर फिल्म खेलिन् । यो फिल्मबाट उनी चम्किन्छु भन्ने सोचमा थिइन् । तर, रणवीर फिल्म चलेन । फिल्म नचल्दा सुवेक्षाको कामको तारिफ भएको भए पनि हुन्थ्यो । त्यो पनि भएन । दुबै कुरा नभएपछि रणवीरबाट डेब्यू गरेको अर्थ सुवेक्षालाई भएन ।

बरु, ऐश्वर्य फिल्म नै खेलेको भए सुवेक्षाको करिअरलाई साथ मिल्थ्यो कि ? कहिलेकाही बढी खोज्दा पनि गाह्रो हुन्छ भन्छन्, सुवेक्षाका लागि यस्तै त भएन ।