राजनितिक रङ्गमा रंगिदै गायक शर्माको ‘लुट्न सके लुट् कान्छा’

गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा…’ शुक्रबार  सार्वजनिक भएको थियो । गीतमा शब्द / संगीत पनि गायक शर्माकै रहेको थियो । शुक्रबार सार्वजनिक भएको गीतको भिडियो नेपालको युबट्युब ट्रेन्डिङमा शनिबार दिउँसोसम्म १३ मा पुगेको थियो । शर्माले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेको गीत सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै हटाएका छन्  । र शब्दहरु परिवर्तन गरी पुनः सार्वजनिक गर्ने जनाएका छन् ।

यस्तो छ उनको स्ट्याटस :
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु की म राजनितीलाई त्यती गहिराईबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।
धन्यवाद ।
पशुपती शर्मा

शर्माको स्ट्याटस ८ बजेर ४२ मिनेटमा आएको थियो । यस भन्दा ठिक ३४ मिनेट अगाडी ८ बजेर ८ मिनेटमा युवा संघ नेपालको पेज बाट एक स्ट्याटस पोष्ट भएको रहेछ । पोष्ट हेर्दा गायक शर्मालाई प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको समर्थकको रुपमा इंगित गरिएको भान हुन्छ ।

हेरौं युवा संघ नेपालको पोष्ट :
पशुपति शर्माका कार्यक्रमहरु आ-आफ्नो ठाउँमा शशक्त बहिस्कार गर्न गराउनु हुन सम्पूर्ण युवा साथिहरुमा हार्दिक अपिल गर्छु ।
उन्को राजनितिक झुकाब र चरीत्रको बिशय सबै प्रस्टनै छन तर एक ब्याबसायिक कलाकारको प्रस्तुतिमा योजनाबद्द हिसाबले कम्युनिस्ट पार्टीलाई खुईल्याउदै चुनाबी गीत जस्तो गरी काङ्रेसको पक्षपोशण गरेको देखिन्छ । धेरै बिशय राम्राउठाई रहदा केहि बिशयका माध्यमबाट कम्युनिस्ट पार्टी माथी प्रहार नियत स्पश्ट देखिन्छ ।
१) बिदेशी पाहुना लगाएत भिभिआईपी हरुका लागी सेना ले खरिद गरेको हेलिकप्टरको प्रसँगलाई जोड्दै सम्मानानीय रास्ट्रपती ज्युको चरीत्र र प्रतिश्ठा हत्याको प्रयास भएको छ ।
२)”यमराजको शाशन” शब्द प्रयोग गरिरहदा कम्युनिस्ट पार्टीको झण्डा देखाउनु पछीको नियत के हो ?
३) सत्ता अहिले कम्युनिस्ट पार्टिको नेतृत्वमा छ यसर्थ उन्ले इङित गरेको “कार्यकर्ता” भन्ने शब्द पनि कम्युनिस्ट पार्टिकै कार्यकर्ता प्रति लक्षित देखिन्छ र जस्लाई उन्ले कुकुर सँग तुलना गरेका छन,यो कुन तहसम्म को तुच्छताको पराकास्टा हो ? निचता र कुसन्स्कृत मानसिकताको पराकास्टा । पशुपतिजीलाई हेक्का होस, आफ्नो हैसियतको!!अनि हाम्रा कार्यकर्ताको हैसियत, योग्यता, क्षमता हेर्ने र बुझ्ने आफ्नो क्षमता बृद्धी गरेर आउँदा हुन्छ । हरेक क्षेत्रमा अब्बलता पुस्टी गर्न तैयार छन उनिहरु । तुलनात्मक रुपमा हेर्ने हो भने दलाली,तस्करिको बारेमा ज्यादा समाचार आईरहने तपाईंकै क्षेत्रभित्रका बिकृती र बेथिती प्रती कत्तिको हेक्का राख्नु भाछ ?
४) वाइड बडिको कुरा उठाएका छन ठिक छ तर तत्कालिन सरकार र पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउबा र काङ्रेशको बारेमा कही कतै कुनै सन्केत देखिन्न उल्टै मिनेन्द्र रिजाल मार्फत काङ्रेश लाईनै राम्रो देखाउने नियत देखिन्छ ।
यसर्थ पशुपतीजि केहि पन्क्तीको वाही वाही पाउनु होला तर यस्को दुरगामी प्रभाब कस्तो पर्छ हेक्का रहोस राजनितीनै गर्ने भए प्रतिस्पर्धामा आउनुस झन्डा बोकेर र प्रतिद्वन्दताका लागि तैयार रहनुस ।

राजनिती कत्तिको गर्नु हुन्छ थाहा छैन तर तपाई राजनिती राम्रो बुझ्नुहुन्छ भन्ने हाम्रो ठम्याई हो । त्यसैले समयमै आफ्ना ज्ञात,अज्ञात गम्भिर त्रुटीहरु सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतीका कारण एक चर्चित कलाकारको करीयरमा असर पर्न सक्ने कदमका लागी हामी बाध्य हुनु नपरोस ।

पुनश्च याद रहोस बिकृती बिसंगतीका तमाम बिशयहरु उठाउन खोज्नु भो तर अधिकांश यो मुलुकमा शाशन सम्हालेको नेपाली काङ्रेशलाई केहि कोड गरिएन तर केवल केहि मिडियाका समाचार र टिप्पणी लाई आधार बनाएर पुर्बाग्रही ढङगबाट आएको यो प्रस्तुती एदि “चुनाबी गित” भएको भए हामी पनि त्यही रुप्मा लिने थियौ ।

यसको एक दिन नबित्दै विवेकशील साझा युवा संगठनका संयोजक अब्दुल मियाँको नाममा विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले अर्को पोष्ट गरे ।

विवेकशील साझा युवा संगठनको विज्ञप्ति
पशुपति शर्माको गीतबारे विवेकशील साझा युवा संगठनको विज्ञप्ति (प्रकाशन र प्रसारणको लागि सक्दो श्यर गरिदिन अनुरोध गर्दछौं)
लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत प्रकाशन प्रशारणबाट हटाउन बाध्य पारिएको बिषयमा विवेकशील साझा युवा संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।

नेपालको संबिधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिब्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको विवेकशील साझा युवा संगठनको निश्कर्ष छ।

युवा जोस र सिर्जनात्मकतालाई सही ढंगले सदुपयोग गर्नु पर्नेमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण शैलीमा धाक-धम्की मिश्रित शब्दहरुको प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु अत्यन्तै निन्दनिय छ ।

विकृति र विसंगतिका विरुद्ध आम युवालाई नै उद्वेलित गर्नु पर्नेमा देश र नेतृत्व सही बाटोमा हिँडोस् भन्ने भावले आएका आलोचनात्मक अभिव्यक्तिहरुप्रति युवा संघको प्रतिशोधपूर्ण अभिव्यक्ति आउनु युवाहरूलाई देशका प्रमूख पार्टीले कसरी एकोहोर्याएर गलत रूपमा प्रयोग गरिरहेछन् भन्ने कुराको प्रमाण हो।

पछिल्लो समयमा देशमा सुशासन कायम गर्ने राज्यका जिम्मेवार निकायका अधिकारीहरु नै भ्रष्टाचार र कुकृत्यमा लागेका समाचारहरु सार्वजनिक हुनु, सत्तापक्ष र प्रतिपक्षबाट स्पष्ट राजनीतिक प्रतिबद्धता नआउनु र एकपछि अर्को अनियमितताका खबरहरु आउँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण छ।

विवेकशील साझा युवा संगठन कलाकारहरु राष्ट्रका गहना हुन् र लेख, रचना, श्रब्य, दृश्य सामग्रीले पनि समाज रुपान्तरण हुन सक्छ भन्नेमा बिश्वास गर्दछ। विवेकशील साझा युवा संगठन सम्पुर्ण कलाकारहरुको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैब उभिने छ।
अब्दुस मियाँ
संयोजक
विवेकशील साझा युवा संगठन
यही बीच आइतबार साझ नेपाली कांग्रेसको अनौपचारिक समर्थनमा विवेकशील साझाले माइतीघर मण्डलामा उक्त गीत बजाएर बिरोध कार्यक्रम समेत गरेका छन् ।

बिरोध र समर्थनका बीच पुनः गायक शर्माले अर्को स्ट्याटस पोस्ट गरका छन् । जहाँ समेत उल्लेख छ म कुनै राजनीतिक पाटीको पक्ष वा विपक्षमा छैन भन्ने आसय ।
शर्माको स्ट्याटस :
मैले हिजो मात्र बिबिध कारणले मेरो आधिकारिक YouTube channelबाट हटाएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको बिरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहान्छु,त्यो बिशुद्द भ्रष्टाचार र धेरै बर्ष देखी बिधमान बिसंगती र विकृति बिरुद्द मात्र थियो र छ पनी भन्न चाहान्छु र यसै बिषयमा म अनी म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगरीदिनु हुन पनी बिनम्र अनुरोध गर्दछु,,,यहाँहरुकै आशीर्वाद र मायाले मात्र म कलाकारको रुपमा स्थापित भएकाले यहाहरुले मलाई दर्शाउनु भएको माया र सद्भाव प्रती धेरै धेरै आभारी छु,,

विवाद बड्दै जाने क्रममा नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । सिंहको घोषणा लगत्तै सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले , ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यही गीत संसद्मै गाउनुभयो भने वहाँलाई मेरो एक महिनाको तलब दिने घोषणा गर्न चाहन्छु।’ उनले थपे ‘सरकारले  गीतमा कुनै पनि प्रतिबन्ध लगाएको छैन । भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्।’

विवाद बढ्दो छ, समयले बताउला निष्कर्ष के निस्किन्छ । कलाकारिता र वाक स्वतन्त्रता माथि अंकुस लगाउनु गणतन्त्रको मर्म बिपरित हुने भए पनि गायक स्वयम्ले नै ‘म विवादमा आउन चाहन्न भनेर गीत हटाएको अवस्थामा विवादलाई  राजनीतिक रंग दिन थालिएको ठम्याई छ ।