वैशाख २७ मा ‘जात्रै जात्रा’

चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुनेछ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

‘जात्रै जात्रा’ले सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । चलचित्रको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।

योसँगै बैशाख महिनामा आशा गरिएका २ चलचित्र ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज हुने भएका छन् ।

चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ ।

चलचित्र ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ । यसैविच, चलचित्रमा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ ।