फ्लपले तर्सायो निर्माता, प्राविधिक बेरोजगार, थोत्रिँदै इक्युपमेन्ट

माघ अन्तिमबाट चैतसम्म फिल्म सुटिङ गर्नको लागि सबै भन्दा उपयुक्त समय मान्ने गरिएको छ । जाडो कम हुने र गर्मी पनि धेरै नहुने हुँदा फिल्म छायाँकनका लागि फिल्मकर्मी यो समयमा फिल्म छायांकन गर्न रुचाउँछन् । तर, विगतका दिनमा फिल्मकर्मीले जेठ अन्तिमसम्म पनि सुटिङ गर्ने गरेका छन् । नेपाली फिल्म क्षेत्रको पछिल्ला केही वर्षलाई हेर्ने हो भने पनि यो समयमा (माघ देखि चैत्रसम्म) बार्षिक रुपमा १५-२० देखि २५ वटा फिल्म छायाँकन हुँदै आएका छन् । यो समय भनेको फिल्म क्षेत्रको असार हो अर्थात बाली लगाउने समय ।

तर, यो बर्ष यही समयमा मुस्किलले ५ वटा फिल्म पनि फ्लोरमा छैनन् । हाल फ्लोरमा ‘सम्हालिन्छ कहिले मन’, ‘मारुनी’ र ‘चचहुईँ’ छन् । फिल्म ‘जात्रै जात्रा’को सुटिङ केही समय अगाडि सकिएको छ भने ’सानो मन’ फ्लोरमा जाने भनिए पनि कुनै सुरसार देखिएको छैन । त्यस्तै छक्का पन्जा टिमसंगको सहकार्यमा दिपेन्द्र लामाको निर्देशनमा रोहित अधिकारीको निर्माण रहने फिल्म दशैँमा रिलिज गर्ने भनिए पनि त्यसको टुंगो लागेको छैन ।

पछिल्ला केही महिनामा प्रदर्शनमा आएका फिल्ममा नयाँ लगानीकर्ताहरुको बाहुल्यता छ । जो फेरि दोहोरिन चाहेनन् । कारण आशा गरिएका फिल्मबाट भोग्नु परेको निराशा नै थियो । यस वर्ष हालसम्म करिव ७० फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका अधिकांस फिल्म फ्लप सावित भए । लगानी उठाउन सकेनन् । सायद यही कारण पनि हुनसक्छ लगानीकर्ता लगानी गर्न डराईरहेका छन् । फिल्ममा लगानी बढ्यो भन्न नपाउँदै पुनः फिल्ममा खडेरी सुरु हुने खतरा देखिएको छ । फ्लोरमा फिल्म नहुँदा कलाकार त खाली बस्न बाध्य बनेका छन् । कलाकार त खाली बसेका छन् नै छायांकनमा चाहिने सामग्रीको व्यवसाय गर्ने इक्युपमेन्ट हाउसको कमाई पनि शुन्य जस्तै बनेको छ । ती संगै पर्दा पछाडि काम गर्ने पनि मारमा परेका छन् ।

अष्लेषा इक्युपमेन्ट हाउसका विश्व गौचनले आफ्ना सामान थन्किएर बसेको बताए । ‘वर्षको सुरुवात हेर्दा फिल्म धेरै बन्ने अनुमान गरेका थियौँ । तर फिल्म बन्दै चल्दै २-४ दिनमै उत्रिन थाले । आशा गरिएका फिल्म नै चलेनन् । पछिल्लो समय अनमोल केसी स्टारर फिल्म ’क्याप्टेन’ले समेत आफ्नो लगानी रिकभर गर्ने लक्षण नदेखाएपछि लगानी कर्ता हच्किएका छन् ।’ गौचनले लगानी गरेका कलाकारका फिल्मले नै पैसा नउठाएपछि संकट आएको बताए ।

‘यो वर्ष फिल्ममा भन्दा पनि कलाकारमा लगानी बढ्यो । फलानो फिल्मको लगानी यति भन्दा पनि फलानो कलाकार माथि यति लगानी भन्ने कुरा हावी भयो । कलाकार माथि लगानी हुनु नराम्रो पक्कै होइन तर लगानी गरिएका कलाकार कै फिल्म नचल्दा अब को माथि लगानी गर्ने ? गौचनले प्रतिप्रश्न गरे ।

त्यस्तै सिने जोनका रजत बुढाथोकीको तर्क पनि गौचनको भन्दा फरक छैन । मेरोफिल्मसँगको कुराकानीको क्रममा उनले भने, ‘पब्लिसिटीको खर्च बढी भयो । फिल्म राम्रो बन्नका लागि फिल्मको भित्री गुदीमा नै लगानी बढ्नु पर्ने हो तर त्यसो हुन सकेन । कलाकार माथि मात्र हाम्रो लगानी केन्द्रित रहयो । फिल्म चलेनन् । त्यसै कारण पनि पछिल्लो समय फिल्म निर्माण धरापमा परेको छ ।’

पछिल्लो समय नेपालमा छायाँकन हुने भोजपुरी फिल्म र भारतीय प्रोजेक्टहरुमा नेपाली इक्युपमेन्ट बढी खपत भएको सिने इक्युपमेन्ट हाउसका संचालक समेत रहेका निर्देशक बसन्त निरौला भनाई छ । ‘फिल्म क्षेत्रमा पछिल्लो समय सिमित कलाकारहरु छन् जो माथि लगानी भइरहेको छ । सिमित कलाकार हुँदा उनीहरुले जे भन्यो त्यही गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ । त्यसैले पनि फिल्ममा भन्दा बढी कलाकारमा लगानी केन्द्रित भएको छ । प्रदर्शनमा आएका करिब ५ दर्जन फिल्म मध्य मुस्किलले १ दर्जनले पनि लगानी उठाउन नसक्दा नेपाली फिल्म इण्डस्ट्री कोमामा गएको छ । फ्लपको शृंखला बढ्दै जाँदा फिल्म बुझेर बनाउन चाहनेहरु ब्याक भएका छन् ।’ फिल्म निर्माणमा आएको सुस्तताले प्राविधिकलाई गाह्रो पर्ने बताए ।

‘ एउटा फिल्ममा करिब ५० जनाले दैनिक रोजगारी प्राप्त गर्दै आएका थिए । हाल फिल्म छायाँकन नभएकाले हाम्रा इक्युपमेन्ट त थोत्रिएका छन् नै ति जनशक्तिसमेत बेरोजगार बन्न पुगेका छन्’, निरौलाले थपे । वर्ष ०७५मा ७-८ महिनाको आसपासमा करिब ७० बढी फिल्म प्रदर्शनमा आएको नेपाली फिल्म क्षेत्रमा फिल्मको खडेरी यस्तै रहयो भने वर्ष ०७६मा मुस्किलले ३०-४० ओटा फिल्म निर्माण तथा प्रदर्शन हुनेमा समेत शंका देखिएको छ ।