भट्टराइले गरे बोर्ड अध्यक्षको पदभार ग्रहण

चलचित्र निर्माता तथा कलाकार केशव भट्टराइले सोमवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । निकिता पौडेलको रजिनामापछी रिक्त रहेको बोर्ड अध्यक्षमा भट्टराई केही दिन अगाडि नियुक्त भएका थिए । चलचित्र विकास बोर्ड पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

उनको स्वागतमा बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘विगतका दिनमा चलचित्र विकास बोर्डमा के कस्तो काम भए त्यो मलाई थाहा छैन । मेरो कार्यकालमा फिल्म क्षेत्रको श्रीवृद्धिमा लागी पर्नेछु ।’ ‘म यहाँ कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर पदभार ग्रहण गरेको छैन र चलचित्र क्षेत्रका संघसंस्थामाथि कुनैपनि खालको हस्तक्षेपकारी नीति अपनाउने छैन,’ उनले भने ।

आफूले सरकारलाई १६ बुँदे महत्वकांक्षी कार्ययोजना बुझाएको भन्दै त्यसको छिट्टै एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने बताए । राष्ट्रिय चलचित्र नीति २०७१ पारित गराउने, बक्स अफिस प्रणालीलाई लागू गर्ने, २ बर्षदेखि रोकिएको चलचित्र पुरस्कार र सम्मानको कामलाई पनि अगाडि बढाउने लगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने उनको भनाई थियो । बोर्ड अध्यक्ष भट्टराइको कार्यकाल २ बर्षको रहनेछ ।