निर्माताले के हेरेर यति महंगो लगानी गर्दैछन् ?

बरु, मरुभूमीमा रहेको बालुवामा निरन्तर पानी हाल्यो भने कुनै न कुनै स्थानमा पालुवा पलाउन सक्ला । तर, नेपाली फिल्ममाथिको लगानीलाई हेरेर बालुवामा पानी भन्न पनि नसुहाउने अवस्था आएको छ । किनकी, यो भन्दा पनि कमजोर भएको छ नेपाली फिल्ममाथिको लगानी ।

बालुवामा पानी भन्दा पनि भयंकर अवस्थामा पुगेको नेपाली फिल्ममा पैसा लगानी गर्नेहरुले भने गरेको गर्यै छन् । पैसा लगानी गर्नका लागि यहाँ निर्माताको अभाव नै छैन ।

फिल्मको छायांकन चैत्र लागेपछि कम हुन्छ र वैशाखपछि बढ्छ । यो क्रम चलेको लामो समय भएको छ । आखिर निर्माता के हेरेर लगानी गरिरहेका छन् ? जबकी, यो बर्ष रिलिज भएका फिल्ममा रिलिज हुन बाँकी ३ वटा छाड्दा नाफा कमाउने फिल्मको संख्या २ छ ।

नेपाली फिल्म अहिले १ करोड घटीमा सामान्य चलेका कलाकार लिएर पनि बन्दैन । बजारले स्टार भनेका कलाकार लिने हो भने त ३ करोड भेट्छ । यो अवस्थामा पनि फिल्ममा लगानी गर्न अन्धाधुन्ध रुपमा नेपाली कलाकार लागिरहेका छन् ।

हाँस्यास्पद कुरा त के छ भने, बजारबाट १ करोड ग्रस उठाउन नसक्ने कलाकारहरु पनि अहिले चर्को पारिश्रमिक मागेर स्टारको भ्रममा बाचिरहेका छन् । निर्माता तिनै कलाकारमाथि पैसा खन्याएर मनग्गे आम्दानी गर्ने भ्रममा छन् । नेपाली फिल्म भ्रम नै भ्रमको खेतीमा पालिएको छ ।

एउटा सानो बजारमा खुम्चिदा पनि यहाँ ठूलो लगानी, स्टार भएको घमण्डले कसैलाई पनि छाडेको छैन ।

नेपाली फिल्ममा एक दशकको आँकडा हेर्दा निरन्तर फिल्म बनाउने निर्माताको संख्या कम छ । पहिले जग्गाबाट कमाएको पैसा धेरैले फिल्ममा हालेका थिए । अहिले एनआरएनहरुको पैसामा फिल्म धेरै बनेका छन् ।

छक्का पन्जा र नाई नभन्नु लको कमाई सुनेर आफूले पनि त्यस्तै पैसा कमाउने लोभमा फसेर धेरै निर्माताले लगानी गरेका छन् । तर, सबै फिल्म छक्का पन्जा र नाई नभन्नु ल हुँदैनन् भन्ने उनीहरुले वुझेका छैनन् ।

फिल्ममा लगानी गर्ने निर्माताहरुको अवस्था हेर्दा उनीहरुलाई कती रकम कमाउँदा कती रकम आउँछ भन्ने पनि थाहा छैन । बरु, उनीहरु बजारमा आएका खबरमा लेखिएका रकम सबै आफ्नै गोजीमा आउँछ भन्ने सोचमा छन् ।

नेपाली फिल्ममाथिको लगानीको अवस्था अहिले जुन छ, यो विकराल छ । एक दशक अघिसम्म त फिल्म असफल हुँदा पनि निर्माताले ५ देखि १० लाख गुमाउथे । अहिले त फिल्म असफल हुँदा ५ लाख पनि कमाउँदैनन् । यो विकराल अवस्थामा पनि कलाकारले मागेको जती पैसा दिएर आँखा चिम्लिएर फिल्ममा लगानी गर्ने क्रम बढेको छ ।

म्यूजिक भिडियोमा भ्यूज जाने मोडलदेखि टिकटकमा हिट भएका व्यक्तिलाई कलाकार बनाएर करोडौ रकममा जुँवा खेल्न निर्माता तल्लिन छन् ।

फिल्म बनाउँदा यहाँको बजारमा के हो भनेर बास्तविकता निर्माताले नवुझेका हुन् कि उनीहरु जानी जानी लगानी गरिरहेका छन् । तर, फिल्मको अहिले जुन बजार छ, यो बजारमा आँखा चिम्लिएर लगानी गर्ने अवस्थामा भने छैन ।