श्रृङ्खला जस्तो सहज छैन नयाँ मिस नेपाललाई

टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको केही हप्ता अघि प्रशारण भएको शोमा नेपाली सौन्दर्य प्रतियोगीताको विजोग देखाइएको थियो । दैनिक रुपमा राजधानीदेखि देशभर आयोजना भैरहेका यस्ता ब्यूटी प्याजेन्टको नाममा भैरहेको लुटले यस्ता प्रतियोगीतामाथिको विश्वसनियतामा धज्जी उडेको छ । तर, पनि सरकारले ध्यान नदिदा यस्ता प्रतियोगीता दैनिक रुपमा भैरहेका छन् । यस्ता खालका सौन्दर्य प्रतियोगीता दैनिक भएपनि यसले मिस नेपाल जस्तो अन्तरराष्ट्रिय प्रतियोगीतालाई भने फरक पारेको छैन ।

नेपालमा राम्रो साख जमाएको मिस नेपालको अन्तरराष्ट्रिय बजार विकास तथा नेपाल र नेपालीको साथ भने कमजोर नै छ ।

यो बर्षकी मिस नेपाल श्रृङ्खला खतिवडाको जस्तो भाग्य र चर्चा सबैले पाउँदैनन् । श्रृङ्खललाई लिएर जसरी देश र जनताकै चासो देखियो, यस्तो कम देखिएको पाइन्छ ।

अब चाडै नै नयाँ मिस नेपालको घोषणा गर्ने तयारीमा आयोजक संस्था द हिडेन ट्रेजर लागेको छ । नयाँ मिस नेपालका लागि अन्तिम २६ जना छानिएका छन् ।

मिस नेपाल जो भएपनि उनका लागि चुनौतीका पहाड श्रृङ्खलाको लोकप्रियताले खडा गरिदिएको छ । श्रृङ्खलालाई जस्तो साथ संचारमाध्यमले आफुहरुलाई नदिएको गुनासो यो बर्षका मिस नेपालका अन्य ३ विजेताले उठाइसकेका छन् ।

मिस नेपाल मिस वल्र्डमा भाग लिन जाँदा पाएको उचाई श्रृङ्खलाको जस्तो अरुमा छैन । यसैले पनि नयाँ मिस नेपाललाई त्यो उचाई पाउनु आफैमा फलामको चिउरा चपाए जस्तै हो । किनकी, श्रृङ्खलाको पछाडि उनको राजनीतिक पृष्ठभूमी पनि जोडिएको थियो । यसमा श्रृङ्खलाको व्यक्तिगत प्रतिभालाई कमजोर भन्न भने मिल्दैन ।

श्रृङ्खला खतिवडाले जस्तै चर्चा र जनताको साथ पाउनका लागि यो बर्ष बन्ने मिस नेपालले ठूलै संघर्ष गर्न आवश्यक छ । नत्र, यो पटक पनि मिस नेपालले मिस वल्र्डबाट हात खाली फर्किनुपर्ने अवस्था आउन सक्छ ।

श्रृङ्खलाले मिस वल्र्डमा भाग लिइसकेपछि अब हुने नयाँ मिस नेपाललाई मिस वल्र्डमा सहज हुने दाबी गरिसकेकी छिन् । तर, उनले दाबी गरेजस्तै छैन । यो कुरामा मिस नेपालका दाबेदार सुन्दरीहरुले अहिलेबाट नै आफूलाई तयार राख्न आवश्यक छ ।