डी सिने अवार्डमा फिल्म हेर्दै जुरी

विगत ११ वर्षदेखि आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड-०७५को एघारौं संस्करणका लागि जुरीहरुले फिल्म हेर्ने काम शुरु भएको छ । नेपाली फिल्म क्षेत्र कै इतिहाँसमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न सफल इएनआइ छायांछवि डी सिने अवार्डको ११ औ संस्करणका लागि फिल्म दर्ता सँग सँगै निर्णायकहरुले हेर्ने काम पनि शुरु गरिएको हो । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै इएनआई छायांछवि डी सिने अवार्ड आयोजना हुने गरेको छ ।

२०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मूख्यतया डिजिटल फम्र्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै फिल्महरु पूर्णत डिजिटल हुन पुगेपछी स्वतः डीजिटल फम्र्याटका फिल्महरुले सहभागीता जनाउने गरेका छन् । पूँजीले मात्र होइन प्रविधिबाट पनि फिल्मको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । विगतका वर्षहरुमा उपत्यका बाहिर समेत गर्ने गरिएको एक मात्र यो अवार्ड यसपटक पुनः काठमाडौं मै गरिने पनि प्रियले बताए ।

यस वर्ष प्रदर्शन भइसकेका÷भइरहेका ९४ फिल्मले अवार्डमा सहभागीता जनाइरहेका छन् । फिल्मलाइ ‘प्रिजज’ बाट सिफारिस गरिएपछी मात्र यि निर्णायकहरुले फिल्म हेर्ने काम भैरहेको छ । निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया रहेका छन् ।

नेपालकै प्रतिष्ठित एवं विश्वसनिय अवार्डका रुपमा हेरिने गरिएको इएनआई छायांछवि डि सिने अवार्ड –०७५ यसपटक आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाँछविले जनाएको छ । यस अघि डी सिने अवार्ड पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय नाँचघर जमलमा, चौथो, पाँचौं र छैठौं नेपाल प्रज्ञा प्रतिष्ठानमा, सातौं कार्की वैंकट बवरमहलमा, आठौं ग्राण्ड होटल पोखरामा, नवौं ओम सिनेमा हेटौंडामा, दशौं राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भइ सकेको छ भने ११ औं पनि काठमाडौंमा भइरहेको हो ।