केटी पट्याउन पनि ठूलै द्वन्द गर्नुपर्छः प्रदिप खड्का

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको दोस्रो फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । फिल्म तथा अन्य बिषयमा प्रदीपसंग गरिएको कुराकानी :

तपाइको लभर ब्वाई क्यारेक्टर किन परिवर्तन हुँदैन ?

हेर्नुहोस्, परिवर्तन त गर्ने, तर के बाट गर्ने ? फेरि परिवर्तन गर्ने भनेर परिवर्तन कै पछि लागेर पनि नहोला । मलाई मेरा दर्शकले यस्तै भूमिकामा रुचाउनुभएको छ । व्यवसायिक कुरालाई ध्यान दिएर पनि यस्तो खालको भूमिका गर्न जरुरी छ ।

एक्सन भन्दा लभ गर्न सजिलो भएर त होइन नी ?
लभ गर्न पनि भयंकर नै एक्सन गर्नपर्छ । केटी पट्याउन त्यती सजिलो पनि छैन ।

लभ स्टोरी चलचित्रको फर्मुला उस्तै हुन्छ । एकै किसिमको कथामा फरक भूमिका गर्न कत्तीको गाह्रो हुन्छ ?
मेरो विचारमा त्यती गाह्रो त हुँदैन । दैनि जीवनमा घट्ने घटना नै हो हामीले फिल्ममा उतार्ने । मलाई अभिनय नै गर्न नजान्ने मान्छे हुन्छ जस्तो लाग्दैन । अन्य जीव आजका लागि बाँच्छ तर मान्छे यस्तो जीवन हो जो भोलीको कल्पना गरेर पनि बिताउँछ । मान्छेले गर्ने हरेक क्रियाकलपामा अभिनय गरेको हुन्छ । फरक यत्ती मात्र हो कि, न्याचुलर रुपमा गरिने अभिनयलाई क्यामेरामा कसरी गर्ने भन्ने मात्र हो । त्यसमा स्क्रिप्ट थाहा हुन्न, यसमा थाहा हुन्छ । मैले आफ्नो चरित्रमा धेरै मिहिनेत गर्नु पर्दैन । किनकी, हाम्रो समाजमा गरिरहेका चिजहरु नै हो मैले गर्ने । चलचित्रमा नयाँपन भनेर भयंकर नयाँपन दिन आवश्यक पनि छैन । विश्वमा बन्ने फरक फरक कथाका फिल्ममा एउटा कुरा कहिले फरक हुँदैन, त्यो हो इमोसन । अबको २ सय बर्षपछि पनि रुने हास्ने कराउने मायाकै फिल्म बन्छ । पहिले मान्छे मान्छेको प्रेम थियो, अहिले रोबटको प्रेम फिल्ममा देख्न पाइन्छ । तर, पनि फिल्म बनाउने त मायाकै बिषयमा हो । फरक, कसरी प्रस्तुत गर्ने भन्ने मात्र हो ।

तपाइलाई लाग्छ, अभिनय पनि क्रियटिभ हुन जरुरी छ ?
अभिनय भनेको क्रियटिभ भन्दा पनि एडप्टिभ काम हो जस्तो लाग्छ । क्रियटिभको एउटै शैली हुन्छ । जस्तो एउटा किताब लेख्ने लेखेकको एउटा तरिका हुन्छ । फिल्मको कुरा गर्ने हो भने पनि संजयलिला भन्साली र राजकुमार हिरानीको फिल्म भन्ने पाटो फरक छ । कलाकार पनि क्रियटिभ हुन थाल्यो भने उसको विल्कुलै फरक शैली हुन्छ । प्रत्येक पटक नै एउटै खालको अभिनय देखिन्छ । यसैले कलाकार क्रियटिभ भन्दा पनि एडाप्टिभ हुन जरुरी छ । जसले गर्दा उसले परिवर्तन गर्न सक्छ । म पनि एडप्ट गर्ने प्रयास गर्दैछु ।

लभ स्टेशनको क्यारेक्टर कहाँबाट ल्याउनुभएको हो ?
मैले यसका लागि कुनै तालिम लिइनँ । गायक भएर राष्ट्रिय रुपमा नै कलाकार बन्ने, एल्बम निकाल्ने खालको भएको भए म तालिम लिन पनि पुग्थेँ होला । तर, फिल्मी शैलीको फिल्म भएकाले मैले यसका लागि तालिम लिन परेन ।

फिल्ममा कपडा एउटै भयो भन्नेलाई के भन्नुहुन्छ ?
लूगाको बिषयमा म खासै सचेत छैन । तर मलाई मनपर्ने कालो र सेतो हो । लूगाको बिषयमा मेरो आफ्नै धारणा छ । जुन लुगा देखाउनकै लागि फेसबुकमा, इन्स्टामा पोष्ट गरिन्छ नी, त्यो एपको अनर आइफोन चलाएर लुगाको फोटो पोष्ट गर्छो नी उनीहरु फाउन्डर स्टिभ जब्स, मार्क जुकबर्ग उनीहरुको लूगाप्रतिको एउटा फिलोशोपी थियो । के लगाउने भन्दा पनि क्रियटिभ कुरामा दिमाग लगाउन सकिन्छ । क्यामेरामा देखिने मान्छे भएकाले पनि एउटा लूगा लगाउँछु भनेर काम चल्दैन । तर, म लुगामा त्यती धेरै समय खर्चिन सक्दिनँ । लुगाले राम्रो त हुने हो तर खासमा दिमाग र मन सफा हुनुपर्छ । लुगा लगाउनलाई याद नै नगर्ने भन्दैमा स्विमिङ पूलमा सुट लगाउने कुरा पनि त भएन ।

धेरै मिडियामा पुग्दा सस्तो भएको भन्ने लाग्दैन ?
कुन मिडिया सस्तो कुन महंगो ? मलाई त सबै उस्तै हो । क्यामेरा अगाडि आएपछि मैले जवाफ दिन जरुरी छ । होस्ट अनुसारको गेस्ट हुन्छ । होस्टले गेम खेल्नुहोस् भनेपछि खेल्न त परिहाल्यो । होस्टले नै जान्नुपर्ने हो नी, के गर्ने के नगर्ने भन्ने त ।

सामाजिक संजालले लोकप्रियता बढायो कि घटायो जस्तो लाग्छ ?
फिल्म एउटा कुरा हो, लोकप्रियता अर्को कुरा हो । अहिले पपुलर हुने प्रक्रिया छ । मिडिया धेरै हुँदा चाडै माथि पुगिन्छ र चाडै घटिन्छ पनि । म पुरानो शैलीले बाच्छु भनेर हुँदैन । समय र परिस्थिती अनुसार बाच्न आवश्यक छ । म सामाजिक संजालमा खासै सक्रिय छैन ।

अध्ययनमा कती समय बिताउनुहुन्छ ?
पढेको कुरा कती बस्छ, कती बस्दैन । तर, गरेको कुरा भने याद हुन्छ । त्यो चिज म खोज्छु । शास्त्र ध्यानको कुरा गर्दा म पहिला पहिला पनि पढ्ने गर्थेँ । फिल्म अहिले पनि रामायणकै सोचमा बन्छ । संसारमा नयाँ केही हुँदैन, प्रस्तुती मात्र फरक हुन्छ ।