प्रदीपको ‘लभ स्टेसन’ टर्कीस फिल्मको फोटोकपी

‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक हुने बित्तिकै फिल्मको एउटा दृश्य टर्कीस फिल्मको एउटा दृश्यसँग हुबहु मिल्यो । सामाजिक सञ्जालमा हल्ला खल्ला भयो । पत्रकारसँगको हरेक कुराकानीमा निर्देशक उज्जल घिमिरे र हिरो प्रदीप खड्काले स्पष्टिकरण दिए ‘चोरेको हैन प्रभावित भएको ।’ प्रदीप खड्काले त चोरी र प्रभावितका सम्बन्धमा पत्रकारलाई राम्रै पाठ पढाएका थिए ।

तर, उज्जल घिमिरेको इतिहास थाहा भएका सबैलाई शंका थियो, उज्जल घिमिरे प्रभावित हुनु मतलब फ्रेम टु फ्रेम चोर्नु । नभन्दै घिमिरेले त्यही गरेका छन् । शुक्रबारबाट रिलिज भएको ‘लभ स्टेसन’ उनले प्रभावित भएर हैन हुबहु नक्कल गरेर बनाएका छन् ।‘लभ स्टेसन’ टर्कीका दुई सिनेमाबाट हुबहु उठाइएको छ । लेखकसमेत रहेका उज्वल घिमिरेले ‘लभ स्टेसन’ टर्कीको ‘सेम्बिम्ली टेम्केली’ र ‘हे से असक्तन’बाट उठाएका छन् । दुई घन्टा लामो फिल्मको १ घन्टा ३० मिनेट ‘सेम्बिम्ली टेम्केली’बाट लिइएको छ ३० मिनेट ‘हे से असक्तन’ बाट लिइएको छ । यो ३० मिनेटमा जसिताको इन्ट्रोडक्सनदेखि प्रदीप र जसिताको लभ पर्ने दृश्यसम्म समावेश छन् ।


घिमिरेले यसअघि निर्देशन गरेका फिल्म ‘किस्मत’, ‘जिन्दगानी’, ‘छोडीगए पाप लाग्ला’ सबै फिल्मलाई हिन्दी फिल्मबाट उडाएको आरोप छ । उनले हिन्दी फिल्म ‘प्रेम प्रतीज्ञा’बाट ‘किस्मत’, ‘होगी प्यारकी जित’बाट ‘जिन्दगानी’ र ‘जब वि मेट’बाट ‘छोडी गए पाप लाग्ला’ बनाएका थिए । तर, घिमिरेले आफूले चोरेको नभइ प्रभावित भएको कुतर्क गर्दै आएका छन् ।

‘सेम्बिम्ली टेम्केली’

अभिनेता प्रदीप खड्काले पनि घिमिरेकै लहैलहैमा प्रचार अवधिभर पत्रकारलाई चोरी र प्रभावितको पाठ सिकाउँदै आएका थिए । यसको मतलब प्रदीपलाई फिल्म चोरिएको हो भन्ने पहिला नै थाहा थियो । तर, संसारभरका गफ दिन सक्ने प्रदीपलाई अर्काको सिर्जना यत्तिकै प्रयोग गर्न पाइँदैन भन्ने थाहा छैन ? अझ यो फिल्ममा त प्रदीप निर्माता पनि हुन् । उनले अभिनय वापतको पारिश्रमिक सेयर हालेको चर्चा छ ।  अर्काले दुःखले सिर्जना गरेको कुरा बिना अनुमति प्रयोग गरेर निर्माता बन्न  प्रदीपलाई शरम लाग्छ कि लाग्दैन ? एक्लै ४०÷५० लाख लिने प्रदीपलाई ४÷५ लाख खर्च गरेर आफ्नै कथामा फिल्म बनाउन किन रुचि छैन ? प्रदीप यावत प्रश्नको जवाफ दिउन् ।

‘हे से असक्तन’