डंका पिट्न छाडौ, फिल्म नचलेको समिक्षा गरौ

बारम्बारको पिटाइले मानिस होइन, रुख विरुवाले पनि चेत्छन् भनिन्छ । बारम्बार असिना पर्दा रुख विरुवाले पनि चेतेर आफूलाई सुरक्षित बनाउने बाटो खोज्छन् ।

तर, नेपाली फिल्मीकर्मी । बारम्बारको पिटाईले पनि किन चेत्दैनन् ? बारम्बार फिल्म असफल हुँदा पनि कमजोरी भएको हो भनेर स्विकारेर नयाँ बाटोमा किन लाग्दैनन् ?

नेपाली फिल्मको व्यापार कहालिलाग्दो छ । यो बर्षलाई कालो बर्षको रुपमा घोषणा गर्दा फरक पर्दैन । तर, यो कुराको चेत कुनै पनि फिल्मीकर्मीमा अझै पनि आएको छैन । मेरो गोरुको बाह्रै टक्का भनेर हिड्नेहरुको कमी नहुँदा फिल्म क्षेत्र दयनिय बनेको छ ।

यो बर्ष ९० बढी फिल्म रिलिज भएको आँकडा छ । ९० बढी फिल्म रिलिज हुँदा ३ वटा फिल्मले नाफा कमाउनु दयनिय अवस्था हो कि होइन ? कि अझै पनि घैटोमा घाम लागेको छैन ।

फिल्म चोरेर बनाउँदा पनि अझै फिल्मीकर्मी फिल्म चोरेको भनेर स्विकार गर्न तयार छैनन् । बरु, आफूहरुले बनाएको फिल्म अरुले पनि सार्ने बनाउनुपर्छ भनेर अर्ती दिन तयार छन् ।

अभिनेता प्रदिप खड्का, निर्माता गोविन्द शाही लभ स्टेशनलाई फोटोकपी गरे जसरी सार्दा पनि समिक्षकलाई सुझाव दिन तयार छन् । समिक्षकले फिल्ममाथि एट्याक गरेको भनेर बोल्न तयार छन् । तर, आफूहरुले गल्ती गरेको मान्न उनीहरु तयार छैनन् ।

एउटा फिल्मले नेपाली फिल्मलाई दुरगामी रुपमा प्रभाव पार्छ भन्ने वुझ्न आवश्यक छ । एक दुइ दिन कुर्लिएर दर्शकको आँखामा भ्रम छर्न त सकिएला, तर डिजिटल दुनियाँका दर्शकलाई ठग्छु र आफू स्टार वा सफल निर्माता भएको दम्भ पाल्छु भनेर नसोचेपनि हुन्छ । किनकी, हलिउड फिल्मले नेपालमा बुकिङ खुलेको २ घन्टामै बम्पर कमाई गर्छन्, नेपाली फिल्ममा दर्शक हुँदैनन् । के हामीले नेपाली फिल्मका दर्शकलाई ठगेका होइनौ । के दर्शकले हामीलाई पत्याउन छाडेका होइनन् ?

दर्शकले पत्याउन छाडिसकेका छन् । नेपाली हिरो र हिरोइन अझै पनि आफू स्टार भएको र जे बोलिदिए पनि हुन्छ, जे गरिदिए पनि हुन्छ भन्ने ठूलो भ्रम पालेर बसेका छन् ।

स्टारडम त आज होला, भोली नहोला । तर, दर्शकको विश्वास गुमेपछि फर्किन लामो समय लाग्छ । यो कुराको वुद्दि नेपाली फिल्मकर्मीमा कहिले आउँछ ?

यो बर्ष रिलिज भएका फिल्मका निर्माताको सोच यही नै हो । अझै पनि आफ्नो फिल्म चलेको भ्रम पालेर निर्माता बाचेका छन् ।

फिल्म राम्रो भएर पनि नचल्नु आफ्नो ठाउँमा छ । तर, फिल्म तेश्रो दर्जाको बनाएर पहिलो दर्जाको फुर्ती हान्न पटक्कै सुहाउँदैन ।

सबैजना आ आफ्नो ठाउँबाट इमान्दार हुन जरुरी छ । गल्ती गरिएको हो भने गल्ती गरेका हौ भन्दा दर्शकले गलत ठान्दैनन् । तर, गल्तीलाई ढाकछोप गर्न बोलिने हजार झुटहरुले कुनै पनि कलाकार वा निर्माताको इज्जत र प्रतिष्ठालाई छपक्कै खाइदिन्छ ।

केही दिनको आत्मरतीमा रमाउने हो भने त ठिकै हो । तर, लामो समयसम्म जानुछ भने पहिले आफू इमान्दार हुन जरुरी छ । तर, फिल्म नचलेपनि चलेको डंका पिटेर केही दिनको आत्मरतीमा रमाएर काम छैन ।

नेपाली फिल्म यो बर्ष चलेनन् । मै हुँ भन्ने कलाकारको पनि चलेनन्, मै हुँ भन्ने निर्देशकका पनि चलेनन् । यसैले किन चलेनन् भनेर समिक्षा गरौ र आगामी बर्ष गल्ती सुधार्न तर्फ लागौ । होइन भने केही दिनको आत्मरतीले लामो समयसम्म अघि बढ्न दिदैन ।