‘लावाजुनी’ लाई युनिभर्सल प्रमाणपत्र

केएल पीडितको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । अब यो फिल्म सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् ।

नेपालको पश्चिमी जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलित कम्लहरी प्रथामा आधारित फिल्म लावाजुनीमा कम्लहरी बस्दा थारु बालिकाहरुले भोग्नुपरेको शोषण,  उत्पीडन र हिंसाको चित्रणका साथैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ ।

‘पहल नेपाल’को ब्यानरमा निर्माण गरिएको फिल्ममा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरुरुको अभिनय रहेको छ । फिल्ममा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ भने गीतहरुमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन् । करीब ५० लाख लगानीमा निर्माण गरिएको फिल्म लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् । यसका निर्माताहरुमा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् ।