कलंकको रिलिजमा कसैलाई छटपटी, कसैलाई राहतको श्वास

 

बलिउड सिनेमा कलंक भारतमा कती हिट छ त्यो थाहा छैन । तर, नेपालमा यसको भय आफ्नै खालको छ । कतिपयलाई सिनेमा वुधबारबाट नलाग्ला कि भन्ने भय छ कतिपयलाई भोलीबाट लाग्ला कि भन्ने भय छ । हिन्दी सिनेमाले दिएको भयको बिषयमा सबैभन्दा बढी जानकार त निर्माता नै छन् ।

कलंक सिनेमा भोलीबाट भारतमा रिलिज हुन्छ । भारतमा रिलिज भएपछि हिन्दी सिनेमा विश्वभर पनि रिलिज हुुन्छन् । तर, नेपालमा यो सिनेमा वुधबार रिलिज हुने कि नहुने भन्ने अन्यौल अझै छ ।

किनकी, नेपालमा ४ वटा पर्व बाहेक अरु दिन शुक्रबार बाहेक सिनेमा रिलिज गर्न नपाइने सहमती छ । तर, हिन्दी सिनेमाको हकमा भने यो कुरा लागू भएको थिएन ।

सिनेमा कलंकलाई यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले शुक्रबार नै रिलिज हुनुपर्छ भन्ने अडान राखेका छन् । यसमा निर्माता संघको दबाब पनि छ । किनकी, अहिले ए मेरो हजुर ३ र यात्रा सिनेमा लागिरहेका छन् । यी दुबै सिनेमाको लगानी महंगो पनि छ ।

कलंक नेपालमा रिलिज हुन ढिलाई भएपछि क्यूएफएक्सका संचालक भाष्कर ढुंगानालाई भने छटपटी भएजस्तो छ । उनले कलंक रिलिजमा किन ढिलाई भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई मेन्सेन पनि गरेका छन् । सिनेमा रिलिज कुन दिन गर्ने भन्ने निर्माता, वितरक र प्रदर्शक विचको कुरा हुने तर्क पनि भाष्करको रहेको छ ।

दुई नेपाली फिल्मले हलमा राम्रो कमाई गर्दा विदेशी सिनेमा २ दिन ढिलो रिलिज गर्दा क्यूएफएक्सका संचालक ढुंगानालाई किन यति छटपटी भएको हो, यो उनले नै जानुन् । सायद, यो सिनेमाको नेपाल वितरणको तयारी गरेका वितरक र केही हल संचालकलाई छटपटी भैरहेको होला । तर, यसले नेपाली निर्माताले भने लामो श्वास फेरेका छन्, त्यो पनि राहतको ।

नेपाली सिनेमालाई ४ वटा पर्व बाहेक अरु दिनमा शुक्रबार नै रिलिज गर्नुपर्ने  नियम लागू हुन्छ भने किन हिन्दी सिनेमालाई हुँदैन ? हिन्दी सिनेमा २ दिन ढिलो रिलिज गर्दा के फरक पर्छ ? नेपाली सिनेमाले यति ठूलो राहत पाइरहँदा भाष्करलाई खसखस किन भएको होला ?

नेपालमै रहेपछि नेपालकै सिनेमालाई बचाउनु पहिलो प्राथमिकता हो । हलमा सिनेमाले राम्रो दर्शक पाएका छन् । विदेशी सिनेमा नहुँदा शोहरु पनि राम्रो छन् । यो अवस्थामा कुनै सिनेमालाई ५ दिनमै तैले पाइरहेको शो छाड, हिन्दी सिनेमा लगाउँछु भन्न पाइन्छ कि पाइँदैन ?

यहाँ इमान्दारिताको कुरा पनि आउँछ । सिनेमा क्षेत्रमा इमान्दारिताको प्रश्न उठेको पनि थियो । यसपटक वितरक र हलवालाले पनि इमान्दारिता देखाइदिनुहोस् । हिन्दी सिनेमा २ दिन ढिला नेपालकै नियम अनुसार रिलिज गरेर इमान्दारिता देखाउँदा विश्वास बढ्छ, कुनै प्रलय हुँदैन । यसमा टाउको दुखाएर बस्न भन्दा पनि नेपाली सिनेमा चलेकोमा खुशी हुदा राम्रो होला ।