प्रेममा परेपछि जोडी फिल्ममा पनि छुट्नै नहुने हो ?

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले प्रेम गरेको बर्ष दिन पुग्न आट्यो । आलिया र रणवीरले बिहे कहिले गर्ने भनेर बताएका छैनन् । तर, ब्रम्हास्त्र फिल्ममा यो जोडीले काम गरिरहेको छ । यो जोडीले ब्रम्हास्त्रपछि अब एकसाथ काम नगर्ने बताएका छन् । बिहे अघि दुइले एउटै फिल्ममा नखेल्ने बताएर यो जोडी उदाहरणिय बन्न खोजेको छ ।

तर, नेपालमा भने जोडीहरुको लागि यो कुरा उल्टो छ । प्रेममा परेपछि त्यही जोडी नै खेल्नुपर्ने, सिफारिश गरेर उसलाई नै चाहियो भन्नुपर्ने जोडी पाइन्छन् । फिल्म बनाउन चाहनेहरु पनि प्रेममा परेको जोडीलाई दर्शकले मन पराएपनि मन नपराएपनि लिनै पर्ने वाध्यतामा रहेको छन् ।


अभिनेता सौगात मल्लले प्रेमिका श्रृष्टी श्रेष्ठविना फिल्म नै खेल्न नहुने जस्तो गर्न थालेका छन् । मासु भातमा उनी र श्रृष्टी छन् ।

उनले फिल्म पोई पर्यो काले खेल्ने भनेपछि श्रृष्टीको नाम सिफारिश गरेका हुन् । श्रृष्टीको नाम उनले नै सिफारिश गरेर फाइनल भएको छ । अब, सौगातले खेल्ने अरु फिल्ममा पनि श्रृष्टी हुन सक्छिन् । फिल्म लालपूर्जामा सानो रोल भएपनि श्रृष्टीले सौगातको सिफारिशमा गरेकी हुन् ।

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा पर्दा पनि यो सिस्टम लागू भएको सुनिएको थियो । पल र आँचलले ३ वटा फिल्म खेले भने उनीहरुले खेलेको म्युजिक भिडियो गनेर साध्य नै छैन ।

पल र आँचलको प्रेमको दुरी अहिले बढेको छ । यही भएर फिल्म भने उनीहरुले अलग अलग खेलिरहेका छन् । तर, प्रेममा रहँदा उनीहरुले एउटाले अर्कोलाई खेलाउन पर्ने शर्त राख्ने गरेको फिल्मी वृत्तमा चर्चा पनि चलेको हो । उनीहरुले यो कुरामा स्विकार भने कहिले गरेनन् ।

नेपाली कलाकारहरु प्रेममा रहेपछि अर्काको क्यारिअर बनाउनुपर्छ भन्ने सोचमा लाग्छन् कि कुन्नी के हो ? एउटाले अर्कोलाई सिफारिश गरेर काम गर्नेगर्छन् ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि फिल्म एकैसाथ खेल्नु, भिडियोमा पनि देखिनुको कारण फिल्मीकर्मी यही नै हो बताउँछन् । उनीहरुको जोडी वास्तविक जीन्दगीका लागि सुहाएको हुनुपर्छ । फिल्ममा वा भिडियोमा सुहाएको छ या छैन, दर्शकले मुल्यांकन गर्ने अवसर पाएका छैनन् ।

नेपालमा प्रेममा रहेका कलाकारको सूची लामो छ । उनीहरु फिल्ममा खेलाउनका लागि आफूसँगै आफ्ना प्रेमी वा प्रेमिकको नाम दबाब दिने गर्छन् । यही भएर वाध्य भएर नै फिल्ममा खेलाउन निर्माताले हुन्न भन्न सक्दैनन् ।

फिल्ममा खेल्नु र बास्तविक जिन्दगीमा रमाउनु एउटै कुरा होइन । सिफारिशले लामो दिन चल्न सकिदैन होला ।