कलाकारको आवेग

अभिनेता विराज भट्टलाई फिल्ममा फर्कनका लागि सजिलो देखिदैन । विराजले नेपाली फिल्ममा आफूलाई फर्काउनका लागि गरिरहेको मेहेनत खेर गैरहेको छ ।

जय परशुराम फिल्म खेलेर फर्कने उनको योजना पनि सफल भएन । विराज आफै नेपाली फिल्म निर्देशन गर्ने तयारीमा त लागे । तर, भोजपुरी फिल्ममा गएपछि उनले नेपाली फिल्ममा काम गर्ने तरिका परिवर्तन भएको वुझेनन् । पुरानो ठर्राबाट काम गर्न खोज्दा विराज विवादित बने ।

विराजलाई विवादित बनाउने काम उनको आवेगले पनि गरेको छ । उनले प्राविधिक शंकर पाण्डेमलाई मुक्का प्राहार गरे । पाण्डेमाथि हिर्काएको मुक्का उनका लागि घाटा बनेको छ । किनकी, अब उनलाई फिल्म नै पुरा गर्न समस्या पर्न सक्छ ।

नेपाली फिल्मका कलाकारलाई बेला बेलामा दर्शकले आवेगमा देख्छन् । रिसको आवेगले उनीहरुले आँखा चिम्लदा पछि आउने नजिता राम्रो छैन ।

नेपालमा कलाकारको आवेग स्टारडमको घमण्ड हो । कलाकार भएपछि धेरै कुरामा कन्ट्रोल हुन सिक्नुपर्छ । तर, नेपालका कलाकारलाई आवेगले क्यारिअरको वेग नै परिवर्तन गर्न वाध्य पारिदिएको छ ।

कायरा छायांकनको समयमा खोपिएको ट्याटु नेपालमा भाइरल भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रिसको पारो उठेको थियो । उनले संचारकर्मीलाई गाली गरिन् । उनले संचारकर्मीको अघि आफ्नो रिसको कन्ट्रोल नै गर्न सकिनन् । उनको यो रिसले उनको फ्यान घटेको थाहा हुन्छ । साम्राज्ञीले पनि कहिलेकाही रिसलाई रोक्न नसकेको पाइन्छ । फ्यानका आरोप र समर्थन, संचारमाध्यममा आउने गसिपले कलाकारलाई आवेगमा ल्याउँछ ।

फिल्म लुटको ५१ दिनको पार्टीमा संचारकर्मीले फोटो खिच्दै गर्दा अभिनेत्री नीशा अधिकारीको रिस कन्ट्रोल भएन । उनले संचारकर्मीको क्यामेरा खोस्ने हिम्मत गरिन् । पछि, नीशाले माफी त मागिन् । तर, उनको रिस त्यो बेलामा कन्ट्रोल हुन नसक्दा उनी अहिले पनि रिसाहा अभिनेत्री भनेर चिनिएकी छिन् । नीशा अहिले अमेरिकामै रमाएकी छिन् ।

कलाकारको रिस आफ्नो मुड अनुसार चल्छ । राम्रो खबर आउँदा फुरुङ्ग पर्ने र नआउँदा रिसाउने कलाकारको बानी छ । फिल्मीकर्मीको माझमा पनि कलाकारको यस्तै आवेग देखिन्छ ।

निर्माता गोविन्द शाहीले आफ्नो फिल्मसँग जुधाउन आएको भनेर चक्कर फिल्मका निर्मातालाई पिटेको घटना पनि ताजै छ । यस्ता ताजा घटना नेपाली फिल्ममा जती पनि भेटिन्छन्, जसले कलाकारको आवेगको बर्णन गर्छ ।

कलाकारको आवेगले उनीहरुको तह निर्धारण गर्छ । सार्वजनिक रुपमा नै त्यो आवेग देखाउँदा उनीहरुप्रतिको दर्शकको मोह खस्कन्छ । यसले क्यारिअरमा लामो सयमसम्म अवरोध ल्याएको पनि छ ।

आवेगले फाइदा हुँदैन । प्राविधिक शंकर पाण्डेलाई कुट्नु अघि विराजले आफ्नो रिस रोकिदिएको भए आज उनको यति धेरै विरोध र आलोचना हुने थिएन ।

नेपाली कलाकार आफू अनुकुल खबर खोज्ने गरेका छन् । आफू स्टार भएको भनेर अरुको कुरा र व्यवहार स्विकार गर्न नसक्दा कलाकारको आवेगले घाटा दिएको छ ।