‘सपुत’ निर्मात्री तथा कलाकार प्रज्ञा जोशी जेल चलान

कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छन्  । ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी उनलाई काठमाण्डौ ल्याइएको थियो । धरौटी स्वरूप ४० लाख बुझाउन नसकेको कारण उनलाई जेल चलान गरिएको हो।

सुबर्ण कुमारी श्रेष्ठले गरेको ठगी आरोपको उजुरीका आधारमा उनी पक्राउ परेकी थिइन् । यस अघि उनी काठमान्डौमा रेस्टुरेन्ट व्यवसाय समेत गर्दै आएकी थिइन् ।

टेलिसिरियल देवी मार्फत कलाकारिता सुरु गरेकी उनले प्रज्ञा फिल्म्स अन्तर्गत रहेर टेलिफिल्म ‘सिन्दुर’ मार्फत निर्माणमा हात हालिन् । उनले फिल्म सपूत मार्फत फिल्म निर्माणको समेत काम थालेकी थिइन् । सपूतका साथै सम्झना, न बिर्से तिमीलाई न पाएँ तिमीलाई, नोटबुक फिल्म निर्माण गरिन् । कलाकारिता र निर्माणलाई संगसंगै लागेकी उनले ३ दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् ।