फिल्मका मजदुर

आज विश्व मजदुर दिवस । मजदुर अर्थात मजदुरी गरेर पेट पाल्ने मानिस ।

नेपाली फिल्ममा पनि हजार भन्दा धेरै मजदुर छन् । जसले, फिल्ममा काम गरेर पेट पालिरहेका छन् । तर, के नेपाली फिल्ममा काम गर्ने मजदुरले आफ्नो भविष्य सुनिश्चित बनाउन पाएका छन् त ? फिल्ममा काम गर्ने मजदुरले यही मजदुरी गरेर खान सकिन्छ भन्ने सोच्न सकेका छन् ?

सुटिङमा लाइट बोक्ने, खाना पकाउने मान्छे मात्र मजदुर होइन । त्यसमा काम गर्ने प्राविधिक, निर्देशक, कलाकार पनि मजदुर नै हुन् ।

अरुको पैसामा काम गरेर जीवन धान्ने सबै मजदुर हुन् । तर, नेपाली फिल्मका मजदुरले जीवन धान्नका लागि फिल्मलाई अहिले पनि लामो बाटो मान्न सकेका छैनन् ।

चलचित्र प्राविधिक संघले फिल्ममा प्राविधिकलाई काम गराएर पारिश्रमिक नदिएका फिल्म भनेर १५ जनाको नाम सार्वजनिक गरेको छ । प्राविधिकहरुले काम गरेर पैसा नपाएको उजुरी परिरहेको छ ।

कलाकारले पनि काम गरेका सबै फिल्मबाट पैसा पाएका छैनन् । पैसा नपाएर निर्माताको फिल्ममा डबिङ नगरेको, पब्लिसिटीमा नहिडेको भनेर कलाकार पनि भन्छन् । नेपाली फिल्म अहिले पनि मजदुरको हितका लागि पूर्ण रुपमा हुन सकेको छैन ।

तर, फिल्ममा माग धेरै भएका मजदुर अथवा निर्देशक, स्टार कलाकारको माग काम लगाउनेले धान्न नसक्ने अवस्था पनि आएको छ । काम लगाएर नाफा आर्जन गर्छु भन्नेले कुनै कलाकारबाट प्रताडित हुनु परेको अवस्था पनि छ ।

यसैले नेपाली फिल्ममा मजदुर को ? फिल्ममा लगानी गर्ने निर्माता वा उसको पैसामा काम गर्ने अन्य फिल्मीकर्मी ? कहिले काम गराउने नै रुनु परेको छ भने कहिले मजदुरी गर्ने नै रुनु परेको छ ।

फिल्म क्षेत्र मजदुरी गरेर बाच्न सकिने अवस्थामा अझै पुगेको पाइदैन । यहाँ महिना महिनामा तलब आउँदैन । एउटा फिल्ममा काम गरेर कमाएपछि अर्को कहिले गर्न पाइन्छ थाहा हुँदैन ।

नेपाली फिल्ममा मजदुरी गरेर बाच्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ । काम लगाउनेले पनि वुझेर लगाउन जान्नुपर्यो, काम गर्नेले पनि पारिश्रमिक पाएपछि आफ्नो धर्म निर्वाह गर्नुपर्यो ।

फिल्म बजारका सबै मजदुरलाई मजदुर दिवसको शुभकामना ।