विराजको नेपाली फिल्म माया कि भोजपुरीमा अघाएको ?

अभिनेता विराज भट्ट भोजपुरीमा चलिरहँदा नेपाली फिल्ममा आउन लागेका छन् । यो पटक विराजलाई नेपाली फिल्ममा अरु निर्माताले पत्याएनन् वा उनले अरु निर्माताको फिल्ममा खोजेको कथा पाएनन् ? जय पर्शुराम डुबेपछि विराज हच्किएका छन् ।

विराज साङ्लो फिल्म निर्देशन गर्दैछन् । यो फिल्ममा विराजले गरेको काम हेर्न बाँकी छ । उनी यो फिल्मबाट निर्देशक बन्दैछन्,  पुरानो चार्म फर्काउन खोज्दैछन् ।

अभिनेता विराज भट्टले आफूले नेपाली फिल्म नै बनाउन लागेको बताए । विराजले आफूले भोजपुरी फिल्म बनाउन पनि सक्थे भनेर नेपाली फिल्मलाई आफूले धेरै माया गरेको देखाउन खोजे । विराज नेपालमा चल्दा चल्दै भोजपुरीको लोभमा फसेका भने हुन् । यसैले उनले नेपाली फिल्म पहिले बनाएर नेपाली फिल्मप्रति नै माया गर्न खोजेका छन् भनेर अहिले नै भन्न सकिदैन ।

विराज भट्टले फिल्ममा निकिता चण्डकलाई खेलाउँदैछन् । निकितालाई रानी महलले ठेस लागिसकेको छ । रानी महल फिल्ममा ठेस लागेपछि निकिताले फिल्ममा काम नगर्ने सोच बनाएकी थिइन् । तर, विराजले उनलाई फिल्मको कथा बताएपछि निकिताले काम गर्न तयार भएकी थिइन् ।

विराजले फिल्मको कार्यक्रममा आफूलाई बाघ भनेर सम्बोधन गरेका छन् । विराजले अहिलेका अभिनेताहरुलाई डमरु भनेका छन् । विराजले सबै जना राम्रो अभिनेता भनेर फुर्काउन पनि खोजेका छन् ।

विराज भट्ट र अभिनेता निखिल उप्रेतीको सम्बन्ध राम्रो नभएको खबर आयो । विराजले भने आफ्नो निखिलसँग राम्रो  सम्बन्ध भएर नै ५ फिल्म खेलेको बताएका छन् । राजेश हमाल, रमित ढुंगानासँग पनि उनले सम्बन्ध राम्रो भएको बताएका छन् ।

विराजले अहिले आएका अभिनेताहरुमा पनि आफूहरु मिले जस्तै मिल्नुपर्ने बताएका छन् । अभिनेता विराज भट्टले आफू बुढो नभएको तर्क गरेर अहिलेका अभिनेताहरुको चार्मलाई तर्साउन खोजेका छन् ।

विराजले साङ्लो फिल्म राम्रो बनाउन सकेमा अहिलेका अभिनेतालाई तर्साउन सक्छन् । तर, मुखले बोलेर मात्र हुँदैन ।

समय, दर्शक र हलको परिवेश फेरिएका छन् । फेरिएको परिवेशमा घुलमिल हुन सक्नुपर्छ । विराज भट्टले आफूलाई बाघ बताएका छन् । तर, बाघ बुढो भएको नभएको साङ्लोले गर्ने व्यापारिक शिकारबाट थाहा हुन्छ ।