अवार्डमा जो आयो उसैले पायो

अभिनेता अनमोल केसीले गएको बर्षमा आयोजना भएको कामना फिल्म अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड पाए । कृ फिल्मबाट अभिनेता केसीले अवार्ड पाएका हुन् ।

अभिनेता केसीले अवार्ड पाउने नपाउने बहस भैरहेको थियो । केसी आफूले पाउने अवार्डको विधा आउन भन्दा आधा घन्टा अघि मात्र कार्यक्रममा आएका थिए । अभिनेताले अवार्ड पाउने, त्यो दृश्य ए मेरो हजुर ३मा खिच्ने सेटिङ पहिले नै भएको हो ।

अभिनेता केसी पुगेपछि मात्र उनले अवार्ड पाए । अभिनेता केसी नै गएको बर्षमा नै भएको डी सिने अवार्डमा पुरा कार्यक्रम बसे । अवार्ड उनले पाए । सो कार्यक्रममा उत्कृष्ट अभिनेत्रीमा परेकी नीता ढुंगाना पनि पुरा कार्यक्रम बसिन्, अवार्ड उनले नै पाइन् ।

हिजो भएको डी सिने अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जित्ने कन्भर्म भएपछि अभिनेता सलिनमान बनियाँ कार्यक्रमा पुगेको हल्ला चल्यो । सलिन बाहेक अरु कोही अभिनेता नआउनुले पनि उनी अवार्ड पाउने भएपछि पुगेका हुन् भनेर वुझ्न सजिलो भएको हो ।

नेपाली फिल्मको अवार्डमा जो पुग्यो उसैले लग्यो भन्ने नीति छ । अवार्डमा नपुग्ने कलाकारले अवार्ड नै पाउँदैनन् । अवार्डमा उपस्थित भएका कलाकारको अनुहार हेरेर आयोजकले सोही कार्यक्रममा निर्णायकको निर्णय परिवर्तन गरिदिएका छन् ।

अवार्ड पुग्नेले पाउने कि पाउन लाएकले पाउने हुन् ? अवार्डमा नपुग्दा पाउनै हुँदेन भन्ने छ र ? अवार्ड नपाउँदा जानै हुँदैन भन्ने पनि छ ।

नेपाली फिल्मका अवार्डमा कमजोरीको सिमा नाघेको डी सिने अवार्डमा कलाकार नपुग्दा पनि देखिन्छ । एउटै विधामा ७ वटा कलाकारको नाम हुँदा पनि कोही नपुग्दा आयोजकले खल्लो महशुश गरे । आयोजकले खल्लो महशुश गर्दा, अरु सहभागीले पनि अवार्डको क्रेज नेपालमा सकिएको महशुश गरे ।

नेपालमा अवार्डमा पुगेर आफूसँगै प्रतिस्पर्धा गरेर जित्ने साथीलाई अंगालो हालेर बधाई दिनपर्छ भन्ने सोच छैन । आफूले नपाउँदा अरुले पायो भने रिस गरेर क्रोधित हुने बानी छ । अवार्डका लागि कलाकारमा देखिएको रोग यही हो ।

तर, अवार्डमा गएर के हुन्छ भन्ने सोच अब आयोजकले कलाकारको दिमागबाट हटाउन पाएका छैनन्, सकेका पनि छैनन् । राम्रा मान्छेले त अवार्ड नै पाउन छाडे । नजिकका, चाकडी गर्ने, पैसा खुवाउनेले अवार्ड पाउन थालेपछि अरु कलाकारमा त्यो विश्वास रहँदैन । त्यो विश्वास नरहेकाले नेपालमा अवार्डको खेतीमा सुख्खा लाग्न थालेको छ ।

अवार्ड फिल्मकर्मीका लागि प्रोत्साहन हो । बर्षभरी काम गरेका कोहीले पनि आफ्नो मुल्यांकन होस् भन्ने सोच्दछन् । मुल्यांकनका लागि अवार्ड राम्रो माध्यम हो । तर, अवार्ड राम्रो माध्यम हो भन्ने जान्दा जान्दै पनि किन कलाकारलाई नाक खुम्च्याउन वाध्य पार्दैछन् अवार्ड आयोजक ?

किनभने, अवार्ड आयोजक पैसाको पछि लागेका छन् । पैसा कमाइहालियो, अब जे सुकै होस् भन्ने धन्दामा आयोजक लागेका छन् ।

कलाकारलाई पनि अवार्ड पाए पनि के नपाए पनि के भन्ने भान भैसकेको छ । यसले गर्दा नेपालमा अवार्डको महत्व सकिदैछ । आयोजकले अवार्डलाई गरिमामय बनाउन सेट, स्थान, निष्पक्षतामा ध्यान दिएन भने अवार्डको महत्व सकिन्छ ।

कलाकारहरु तिमीले अवार्ड पाउँदैछौ आउ भन्दा पनि नआउने अवस्थामा छन् । अवार्डमा जो आयो उसैले पायो भन्ने प्रचलन हट्न आवश्यक छ ।