फिल्म बनाउनेलाई मात्र राम्रो लागेर हुन्न

फिल्म बनाउनेलाई राम्रो लागेर हुन्छ कि हुँदैन ? फिल्मको पहिलो दर्शक बनाउने मान्छे हो । फिल्म जसले बनायो उ नै पहिलो दर्शक हो, जसले फिल्म कस्तो बनेको छ भनेर मुल्यांकन गर्न सक्छ ।

फिल्मको कथा हातमा लिएपछि राम्रो लागेर नै हो निर्देशकले निर्देशन गर्छु भन्ने, निर्माताले पैसा हाल्छु पनि भन्ने । फिल्म बनाउनेलाई मन परेर नै बनाउँछन् ।

तर, फिल्म बनाउनेलाई मात्र मन परेर हुन्छ त ? फिल्म कसका लागि बनाउने हो ? फिल्म बनाइसकेपछि बनाउनेका घर परिवार र आफन्तले मात्र हेरर पुग्दैन । फिल्म धेरै भन्दा धेरै दर्शकले हेर्नुपर्छ ।

तर, नेपालमा फिल्म बनाउनेहरुलाई दर्शकका लागि फिल्म बनाएका हौं भन्ने त लागेको छैन । मैले राम्रो लागेर बनाएको फिल्म दर्शकले मन नपराएर हुन्न र ? मैले राम्रो लागेर बनाएको फिल्म फिल्मको समिक्षा गर्नेलाई नराम्रो लागेर हुन्छ ? राम्रो लाग्नै पर्छ भन्ने सोच विकास भएको हो ।

दर्शकले हलबाट गाली गर्दै निस्किएको फिल्मलाई पनि राम्रो छ भनेर अड्डी लिन फिल्म बनाउनेले छाड्दैनन् । फिल्म दर्शकले मन नपराएपछि सकियो । रोएर, कराएर, चिच्याएर फर्किएर आउँदैन ।

अभिनेता हरिवंश आचार्यले दाल भात तरकारीको बिषयमा दर्शकलाई वुझाउन नसकेको स्विकार गरे । उनले, दाल भात तरकारी दर्शकलाई सुरुमै लाउड छ भनेर भन्नुपर्नेमा आफूहरुले नभनेको भनेर गल्ती स्विकार गरेका छन् । फिल्म दाल भात तरकारीमा रंगमञ्च भित्राउन खोजेको भनेर हरिवंशले भने । हरिवंशले सिधै नभनेपनि, दाल भात तरकारीमा आफूहरु चुकेको बोलेका छन् ।

अभिनेता हरिवंश आचार्यले यो भनेपनि सबैले यो भनेका छैनन् । दर्शकले फिल्म मन पराएपनि मन नपराएपनि, समिक्षकले राम्रो भनेपनि नराम्रो भनेपनि फिल्म बनाउनेहरु मेरो गोरुको बाह्रै टक्का भन्न छाडेका छैनन् । फिल्म बनाएपछि मैले बनाएको फिल्मलाई नराम्रो भन्न त पाइदैन पाइदैन पाइदैन भन्ने सोच उनीहरुमा विकसित छ ।

फिल्म दर्शकलाई मनपर्न पर्छ । समिक्षा गर्नेले आफ्नो कोणबाट ब्याख्या गर्छन् । समिक्षा गर्नेले नराम्रो भनेका फिल्म चलेका छन् । तर, समिक्षा अर्को विधा हो ।

तर, आफूले बनाएपछि राम्रो छ राम्रो छ भन्ने अडान छाडौ । यसले सिक्ने कुरामा कहिले पनि अवसर दिदैन ।