भामको ‘चिसो बर्ष’ लाई कान्समा पुरस्कार

फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा मीन बहादुर भामको नयाँ फिल्मले नर्वेको सरफन्ड जितेको छ । विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीन बहादुर भामको द इयर अफ कोल्ड (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् । जसको राशी ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) छ । निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ५ फिल्मलाई पनि सो सहयोगका लागि छनोट गरेका छन् । यसमा २ वृत्तचित्र तथा ४ फिक्सन फिल्म रहेका छन् ।
फिल्ममा एउटी गर्भवती श्रीमतिले हराएको श्रीमान्को खोजी गर्ने कथा समेटिएको छ । हराएको श्रीमान् खोज्ने क्रममा एउटा बौद्ध भिक्षु र श्रीमतिको जीवनमा आउने परिवर्तन फिल्मको कथा हो ।
जुरीले पितृसत्तात्मक समाजमा एउटा महिलाले पहिचानका लागि गर्नु पर्ने संघर्षलाई मिहिन रुपमा प्रस्तुत गरेको भन्दै चिसो बर्षलाई पुरस्कारका लागि योग्य ठहराएको बताएको छ । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ ।
यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले पनि सरफन्ड जितेका छन् ।
यसअघि पनि उक्त चलचित्रको स्क्रिप्टका लागि मिन भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए । उक्त फन्डको राशि १० हजार अमेरिकी डलर थियो । यस्तै चिसो वर्षले यसअघि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो ।
मीन भामले यसअघि कालो पोथी निर्माण गरेका थिए जसले इटलीको भेनिस फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
सरफन्ड नर्वेजियन पर्यटन मन्त्रालयको मातहतमा रहेको नर्वेजियन फिल्म इन्स्टिच्युट मार्फत विश्वका ८५ मुलुकका फिल्मलाई निर्माणमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको फन्ड हो । यसले राजनीतिक र आर्थिक रुपमा फिल्म बनाउन अप्ठेरो रहेका मुलकलाई सहयोग गर्दै आएको छ ।
निर्देशक नविन सुब्बाले चिसो बर्षको जितले समानान्तर फिल्म बनाउने फिल्मकर्मीलाई ठूलो हौसला मिलेको बताए ।
‘रकमभन्दा पनि यसले नयाँ पुस्ताका फिल्मकर्मीलाई ठूलो हौसला दिन्छ । विषयवस्तुमा मेहनत गर्ने हो भने चाहेको फिल्म बनाउन नेपाली बजारको मात्रै भर पर्नु पर्दैन भन्ने सन्देश पनि हो यो,’ सुब्बाले भने ।
ीमन निर्देशित ‘बाँसुली’ले पनि भेनिसमा छोटो फिल्ममा पुरस्कार पाएको थियो उनको निर्माण रहेको फिल्म ‘दि क्युरियस गर्ल’ले पनि विश्वका धेरै फेस्टिभलमा सहभागिता जनाएको थियो ।