सगरमाथामा ‘कम्पन’ विमोचन

पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका हुन् ।

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ । सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्दार गरिएको थियो ।