कोही काममा त कोही गसिपमा रमाउँदै

बेनिशा हमाल सोच्छिन् कि, उनले राम्रो काम गरेकी छिन् ब्लाइन्ड रक्स फिल्ममा । यो फिल्म युटुबमा आएपछि बेनिशा हमालको अभिनयलाई दर्शकले मन पराएका छन् । हलमा त दर्शक नै बेनिशाले तान्न सकिनन् । दर्शक बेनिशाले तान्न नसकेपछि उनको कामलाई रुचाउने कसले ?

बेनिशा हमालले ब्लाइन्ड रक्सबाट फाट्टफुट्ट अवार्ड पाइन् । ब्लाइन्ड रक्सले उनलाई राम्रो कमाई गरेर आफूलाई फाइदा होला भन्ने उनलाई लागेको थियो । तर, यस्तो भएन ।

युटुबमा फिल्म आएपछि मात्र उनलाई प्रतिक्रिया आएको छ । तर, युटुबको प्रतिक्रिया हेरेर फिल्म बनाउने मान्छेले लगानी गर्दैनन् ।

अभिनय राम्रो गर्दा नचलेका कलाकार नेपालमा धेरै भेटिन्छन् । तर, अभिनय भन्दा अरु कुरामा बढी ध्यान दिने कलाकार बरु चलेका छन् । अभिनेत्री ऋचा शर्माको अभिनय अभिनेत्री प्रियंका कार्कीको भन्दा राम्रो छ । यो हामीले हैन, दर्शकले भन्छन् । ऋचा अभिनयमा भेरिएसन ल्याउन सक्छिन् । तर, ऋचालाई भन्दा धेरै प्रियंका कार्कीलाई किन पछ्याउँछन् दर्शक, संचारमाध्यम ।

प्रियंका काम भन्दा हल्ला गर्न बढी सक्छिन् । यो त उनले कान्समा गएर देखाएको उपस्थितीले पनि भन्न मिल्ला । होटलको भित्तामा फोटो खिचेर रेड कार्पेट भनेर भन्न सक्ने प्रियंकाबाहेक अरु को हुन सक्छ ?

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि पछ्याउने बढी छन् । उनको अभिनयमा खोट लगाउन दर्शकले छाडेका छैनन् । साम्राज्ञीले खेलेका फिल्ममा उनी अभिनय भन्दा लुकमा ध्यान दिइरहेकी छिन् ।

नेपाली फिल्ममा २ प्रकारका कलाकार देखिए । कोही काम राम्रो गर्ने तर नचल्ने । कोही त ठिकठाक काम गरेर चर्चाका लागि अरु उपाय अपनाउने ।

दर्शक र संचारमाध्यम गसिप बनाउन जान्ने कलाकारमाथि केन्द्रित भएका छन् । फिल्ममा काम गर्ने अभिनेत्रीहरु २ प्रकारमा छन् । कोही यहाँ टिक्नका लागि काम भन्दा गसिप बढी सिर्जना गर्छन् । कोही अभिनयमा ध्यान दिन्छन् तर कम सुनिन्छन् ।

अभिनेत्रीहरुले फिल्मका लागि यस्तो मेहेनत गरेका छन्, गर्दै छन् भन्ने खबर कम सुनिन्छ नेपालमा । किनकी, फिल्ममा नयाँपन खोज्न भन्दा चर्चामा नयाँपन खोज्नेहरु फिल्म क्षेत्रमा बढी छन् ।