फिल्मी संघ-संस्थाको चुनाव हात्ती आयो हात्ती आयो फुस्सा

निर्वाचन भन्ने बिषय बहस, तात्तो र उत्तेजिक हो । यो हुन्छ नै यस्तो । किनभने, निर्वाचनमा हार जित, प्यानल भन्ने हुन्छ । नेपाली फिल्म क्षेत्रमा पनि काम थोरै गरेपनि संस्था धेरै छन् । चलचित्र संघ, निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, पत्रकार संघ, नृत्यकार संघ, प्राविधिक संघ । सबैका आफ्नै संस्था छन् ।

निर्वाचनको समयमा तात्ने संस्थाहरुको हालत २ महिनापछि स्खलित भएको छ । स्खलित पनि कस्तरी हुन्छ भन्दा, अर्को निर्वाचन नआउसम्म खाली हुन्छन् संस्था ।

चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा सुचित्रा श्रेष्ठ आउँदा भएको चहलपहल अहिले यो संस्था छ र भनेर खोज्न पर्ने छ । संस्थाको अस्तित्व नै गायब छ । कुनै काम गरेन समाजले । अब, फेरि समाजको निर्वाचन हुने बेलामा राजनीति हुन्छ । उठ्ने निर्देशकले ठूलै माछा मार्छु जसरी हल्ला गरेका हुन्छन् ।

जेठ २५ गते चलचित्र कलाकार संघ नेपालको निर्वाचन हुदैछ । चलचित्र कलाकार संघको निर्वाचनबाट जितेर आएका अघिका उम्मेदवारले के गरे ? कसैको काम पनि चित्त वुझ्दो छ र ?

कलाकार संघलाई निर्वाचन लागेको छ । निर्वाचनपछि कलाकार संघले गर्ने भनेको अवार्ड पनि राम्रोसँग गर्न सकेको थिएन । अहिले फेरि यीनै यीनै प्रतिवद्धता बोकेर उम्मेदवारी दिएका छन् । दैनिक फोनमा व्यस्त छन्, भोट माग्न ।

अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरिता लामिछानेलाई धम्की समेत आएको भनेर उनले प्रेसमिट गरेर भनेकी छिन् । सरिताले आफू असुरक्षित महशुश गर्न थालेको पनि भनेकी छिन् ।

सरिता लामिछानेले आफूलाई कलाकार नै होइनौ भनेर बारम्बार उजुरी दर्ता भएको भनेर पनि भनेकी छिन् । सरिता लामिछानेलाई मात्र होइन, निर्वाचन अध्यक्षमा उठ्न लागेका कलाकार रविन्द्र खड्कालाई पनि लागेको छ ।

रविन्द्र खड्काको बिषय पनि उस्तै हो । भवन बनाउने, कलाकारलाई एकित्रित गर्ने आदि । यो बिषय पहिलेका उम्मेदवारबाट पनि सुनिएका थिए ।

जुनसुकै संघको निर्वाचन होस्, राजनीतिको गन्ध आएको छ । कलाकार संघको निर्वाचनमा पनि नेकपा, कांग्रेस, राप्रपा लगायतको गन्ध आएको छ । आइरहेको छ ।

नेपालमा रहेका फिल्मका संघसंस्था अरु बेलामा शब्द बोल्दैनन् । फिल्म क्षेत्रमा भएका समस्याको बारेमा संघसंस्था मौन बसेको बेलामा फिल्मीकर्मीले नै संघको औचित्यमा प्रश्न उठाइरहेका हुन्छन् ।

तर, निर्वाचनको बिषयमा भने सबै तातेर भोली ठूलै प्रलय ल्याउछौ भने जस्तो गर्छन् । निर्वाचनको बेलामा हुने गरेको जोश सकिएपछि हराएर जान्छ ।

सबै संघसंस्थाको निर्वाचन आखिर त हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुन्छ । निर्वाचन पछि पनि यो जोशी कायम रहन सक्दैन र ? किन हराउँछ यो जोश र यस्तो राजनीति ?