‘भारत’ प्रदर्शन विरुद्ध निर्माता संघको विज्ञप्ति

बुधबार फिल्म प्रदर्शन गर्ने कार्यको नेपाल निर्माता संघले विरोध जनाएको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै रिलिज गर्न पाउनुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेर जितेको छ । र फिल्म भारत प्रदर्शनमा समेत आएको छ । अन्य बार विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मको ब्यापारमा हानी हुने भन्दै निर्माता संघले विरोध जनाएको हो ।

संघका महासचिव रोज राणा हस्ताक्षरित विज्ञप्तीमा नेपालका चार ठूला चाडपर्व (दशै, तिहार, तिज र नयाँ बर्ष)का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा फिल्म शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रहेको बताइएको छ । सोही अनुसार फिल्म प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट फिल्मको प्रदर्शनलाई असर पार्ने मनसायबाट एक विदेशी फिल्म उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

तर नियमावलीमा शुक्रबार बाहेक अन्य बार नेपाली फिल्म लगाउन नपाइने उल्लेख छ ।  बिदेशी फिल्म उल्लेख नभएकोले यसैको फाइदा उठाउदै वितरकले फिल्म हलमा लगाएका छन् । र सोहि आधारमा जिल्ला अदालतले वितरकको पक्षमा फैसला समेत गरेको छ ।