नम्रता श्रेष्ठको ‘जाइरा’ टिजर सार्वजनिक

फिल्म ‘जाइरा’को टीजर सार्वजनिक भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो । टिजरमा नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । करिव एक मिनेटको टिजरमा नम्रतालाई देख्न सकिन्छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म २०७६ को भदौ ६ गते यो फिल्म प्रदर्शनमा आउने छ । फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस फिल्मका लागि आफ्नो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् ।

एक्शन प्रधान ‘जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो फिल्म कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।