पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको सम्बन्ध संकटमा

 

पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातीय विवाह गर्ने रोल मोडल जोडी बनेका यी दुवैको घर झगडा बढ्दै जाँदा आ–आफ्नै बाटो लाग्ने तयारीमा छन् ।
दुई सन्तानको अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ । अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे छलफल भइरहेको छ । सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भएलगत्तै दुवै अलग हुने तयारीमा रहेको जानकार स्रोतले बतायो ।
शुक्रवारसँगको फोन सम्पर्कमा जिपीले डिभोर्स गर्न लागेको हल्ला मात्रै भएको दाबी गरे । तर घर झगडा भएको भने स्वीकार गरे ।
‘डिभोर्स हुने हल्ला मात्रै हो । श्रीमान्–श्रीमतीबीच झगडा त भइहाल्छ नि !’ उनले भने, ‘सामान्य ठाकठुक मात्र हो । डिभोर्ससम्मै कुरा पुगेको छैन ।’
उषाले भने प्रारम्भमा डिभोर्सबारे बोल्नै चाहिनन् । डिभोर्सबारे सोध्दा झर्कंदै भनिन्, ‘यो त एकदमै ठूलो कुरा होे, कति तनाव हुन्छ । तपाईंले यसरी नर्मल तरिकाले प्रश्न गर्न मिल्छ ?’
दुवैले अस्वीकार गरे पनि उनीहरु बीचको सम्बन्धमा तीतोपना बढेको भने देखियो । दुवैका निकट स्रोतको दाबीअनुसार उनीहरु छुट्टिने निर्णयमा पुगिसकेका छन् । यसअघि फिल्म निर्माता छवि ओझा र शिल्पा पोखरेलको घरझगडा रमिता बनेकाले छुट्टिए पनि पूर्ण समझदारीका साथ छुट्टिने दुवैको सोच छ ।

टेलिभिजनले जुराएको जोडी
यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो । उषा मिस नेपाल बन्नुअघि नै दुवै जना प्रेममा मग्न थिए । दुवै भेट एक टेलिभिजन कार्यक्रमको सिलसिलामा भएको थियो । दुवै जना एउटै टेलिभिजन कार्यक्रमको सञ्चालक थिए ।
२०५४ तिर जिपी नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘म्युजिक प्लस’मा आफूसँग बोल्ने अर्को भिजेको खोजीमा रहेका बेला उषासँग भेट भएको थियो । त्यसपछि सँगै कार्यक्रम गर्दै जाँदा दुवैको मनमा प्रेम अंकुरायो ।
सन् २००० मा भएको मिस नेपाल प्रतियोगितामा उषा सहभागी भइन् र टाइटल समेत जितिन् । मिस नेपालको उपाधि जितेको दुई वर्षमै २०५९ मा विवाह गरेका थिए ।
रौतहटको चन्द्रनिगाहपुरका जिपी र वीरगञ्जकी उषाको अन्तर्जातीय विवाह थियो । दुवैको विवाहलाई धेरैले रोल मोडलका रुपमा हेरेका थिए । उषाले फेसन डिजाइनमा स्नातक गरेकी थिइन् । विवाहपछि उनी ‘यु आर स्टाइलिस’ नामक बुटिकमा व्यस्त भइन् । जिपीले आफ्नै विज्ञापन प्रोडक्सन कम्पनीलाई सक्रिय बनाए ।
पछिल्लो समय यी दुवैले ‘आउँदै जाँदै’ शीर्षकमा फिल्म बनाउने घोषणासमेत गरेका थिए ।
एक अन्तरवार्तामा यो जोडीलाई वैवाहिक सम्बन्ध टिकाइराख्न कति गाह्रो हुँदोरहेछ भनेर प्रश्न गरिएको थियो । जवाफमा जिपीले भनेका थिए, ‘जिन्दगी यात्रा हो । यात्रामा हिँड्दै जाँदा सँगसँगै हिँड्नेसँग हिँड्न जान्नुपर्छ । हामी एकअर्कालाई बुझेर जान्छौँ ।’
सँगै हिँड्ने कि छुट्टिने अन्तिम चरणमा पुगेका यी दुवैले एक अर्कालाई बुझेर सँगै जान्छन् त ?

 

:  शुक्रबार साप्ताहिक बाट साभार