अलमलमा अनमोल

प्याट्ट एक निर्माताले भनिहाले –“अनमोल केसीलाई साइन गराउने हो भने म करोड हाल्न रेडी छु ।” तर अनमोल पाउन गाह्रो छ । तत्काल छेउमै उभिएका अर्का निर्माताले फेरी भनिहाले –“ह्या त्यसको कुरा गरेर बेकारमा भाउ नबढाउ ।” यि संवादले अनमोलको क्रेज र अनमोलप्रतिको असन्तुष्टी प्रष्ट देखिन्छ । अहिले बजारमा अनमोल लिन चाहने र उसको डिमाण्ड सुनेर विच्कीनेहरुको लस्कर नै छ । जे जसो भएपनि निर्माता तथा निर्देशकमा अनमोलको डिमाण्ड घटेको भने छैन । तर अनमोल एकपछि अर्को अपरिपक्व आफ्नै निर्णयबाट फिल्म नगरीमा धुमलिदै गएका छन् । आफ्नो परिपक्व निर्णय क्षमता नभएपछि भने उनी निर्माता तथा निर्देशकको नजरमा अविश्वासी बन्दै गएका छन् ।

उनको पछिल्लो गतिविधिले आफ्नो विवेक सहि ठाउंमा प्रयोग गर्न नसक्दा उनी अलमलमा रहेको बुझिन्छ । जसका कारण निर्माता तथा निर्देशक तनावमा पर्ने गरेका छन् । अहिलेका चर्चित नायक मानिन्छन्, अनमोल केसी । अनमोललाई लिए फिल्म सफल हुने कुरामा निर्माता ढुक्क पनि हुन्छन् । त्यसैले लगानी गर्न हौसिन्छन् । निर्मातालाई अनमोल लिएर फिल्म निर्माण गर्ने मन हुन्छ । तर अनमोल केसी भने वहानामा साइन गरेका फिल्मबाट हटेर निर्मातालाई दुख दिने गरेका छन् । ‘धुपौरे’ नामक फिल्म साइन गरेको समाचार आए । यो फिल्मका लागि अनमोल वर्कशपमा पनि व्यस्त भए । अनमोल ‘धुपौरे’का लागि गम्भिर थिए जस्तै भयो तर, हप्ता दिन अगाडि मात्र अनमोलले ‘धुपौरे’ छाडेको खबर सार्वजनिक भयो । यता निर्माता निर्देशकलाई यो थाहा छैन । अनमोलले भने फिल्म छाडेको नभई छायांकन केही पछि सार्न आग्रह गरेको बताउँदै आएका छन् । तर भित्री कुरो अर्कै छ । एक पूर्व निर्माताले भने –“यो सब पैसाको खेल हो, निर्माताको पैसा घुमाउन पल्केका छन् ।” यसमा अनमोलको भन्दा बाबुको इन्ट्रेष्ट रहेको उनी बताउंछन् ।

अनमोलले यस अघि पनि चर्चित निर्देशक मिलन चाम्सको ‘ब्याचलर बन्टी’ अन्तिममा आएर छाडे । यसमा अनमोलले छाडेको भन्दा पनि निर्देशक मिलन चाम्सले अनमोलको पंच्युआलीटी नभएको भन्दै फिल्म नगरिएको बताउने गरेका छन् । फिल्म साइन गराउने बेलामा निर्देशक मिलन चाम्सलाई अनमोलले झण्डै दुई घण्टा कुराएका थिए । त्यसपछि भने निर्देशक मिलन चाम्स मिटिङ स्थलबाट बाहिरिएको बताईन्छ ।

स्क्रिप्टलाई दोष
प्राय स्क्रिप्टलाई दोष देखाउदै पञ्छीने गरेका अनमोलले फिल्म साइन गर्नु अघि किन स्क्रिप्ट पढ्दैनन् र ? अन्तमा आएर धोका दिन्छन् । अनमोल केसी आफू परिपक्व नहुंदा अरुबाट सञ्चालीत हुने गरेको आरोप फिल्म वृतमा हल्ला छ । विशेष त उनको खुदैका अभिभावक भुवन केसीले आफ्नो छोरो देखाउंदै पैसा असुल्ने गरेको एक पिडित निर्माताले बताएका छन् । साइनिङ अमाउण्ट लियो अनि प्रोडक्सनमा जाने बेलामा भने अनेक बहाना बनाउंदै बरु पैसा फिर्ता गर्ने बताउने गरिएको छ । फिल्म साइन गरेर पहिलो किस्ता लिने गरिन्छ । निर्मातालाई नखाउ त दिनभरीको शिकार खाउं भने कान्छा बाउको अनुहार भनेझै भएको छ अनमोल । यस बारे एक निर्माता भन्छन् ‘अनमोल आफ्नो विवेकले चलेका छैनन् उनलाई उनका बुवाले प्रयोग गर्दै आएका छन् जसको असर उनलाई परिरहेको छ । भन्छन् अनमोललाई फिल्म खेलाउनु भन्दा पनि उनको बाउलाई पहिले फकाउनु पर्ने बाध्यता छ । अनमोल आफू आफ्नो काममा दत्तचित्त भएर लाग्नुपर्नेमा बुवाको हस्तक्षेपको चेपुवामा उनी पर्ने गरेका छन् । यसले अनमोल द्विविधामा पर्ने गर्छन् ।

फकाउनेको भिड
के अनमोल विना नेपाली फिल्म निर्माण रोकिन्छ र ? उनले एक्लैले नेपाली सिनेमा उद्योग धानेका हुन् र ? पक्कै पनि होईन । तर पनि उनको भाउ घटेको छैन । अहिले पनि उनी अहिलेसम्म नाम जस्तै अनमोल नै छन् । तर बेला बेला निर्माता तथा निर्देशकलाई बाल नदिदा उनी त्यहि उद्योगमा रहेका ब्यक्तिहरु विचमा चिया गफमा सकरात्मक तथा नकरात्मक दुवैको पात्र बनेका छन् । चाहे त्यो उनि प्रतिको आशाको होस् या निराशाको ।

केही निर्माता निर्देशक अनमोलको पछि परेका छन् । अनमोललाई आफ्नो फिल्ममा लिने होडबाजीमा निर्माताहरु पनि छन् । त्यस्तै, अनमोल विना पछि परेका निर्देशक हेमराज विसी पनि अहिले अनमोललाई आफ्नो फिल्ममा काम गराउन चाहन्छन् । अनमोलले हेमराजकै निर्देशनमा तयार भएको फिल्म ‘होस्टेल’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । सहकार्यमा जेरी, गाजलु फिल्म तयार भएका थिए । हेमराज पुनः आफ्नो नयाँ फिल्ममा अनमोलसँग काम गर्न चाहन्छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको आगामी प्रोजेक्टमा अनमोललाई लिएर काम गर्न चाहन्छन् । त्यस्तै, जात्राका निर्देशक प्रदीप भट्टराई र अनमोलबीच टिमअप हुने समाचार पनि मिडियामा धेरै आइरहेको छ । अनमोलसँग काम गर्न चाहनेको संख्या लामै छ ।

निर्माता माधव वाग्ले निर्देशनको तयारीमा छन् । उनले पनि फिल्म पारसको लागि अनमोललाई नै आँखा लगाइरहेका छन् । उनले आफ्नै लगानी र निर्देशनमा फिल्म ‘पारस’ निर्माण गर्दैछन् । वाग्लेले अनमोललाई फिल्मको स्क्रिप्ट पनि घोकाइरहेका छन् । तर सुन्नमा आउंदा माधव वाग्लेलाई निर्देशनमा भन्दा निर्मातामा अघि बढ्न सल्लाह उनका बुवा भुवन केसीले सल्लाह दिईरहेका छन् । यसमा पनि उनका बुवाको हस्तक्षेप बढ्दै गएको नजिककाले बताउने गरेका छन् । यसमा पनि उनको बुवाको हस्तक्षेप यस्तै रह्यो भने पारस फिल्म पनि बन्ने नबन्नेमा द्धिविधा उत्पन्न हुने बताईन्छ ।

बेस्वादको स्टारडम
अहिलेसम्म अनमोलले सात वटा फिल्ममा अभिनय गरे । जसमा होस्टेल, जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर रहेका छन् । होस्टेल र सिक्वेल फिल्म ए मेरो हजुरले मात्र निर्मातालाई राहत दियो । जेरी, ड्रिम्स र गाजलुले साऊसम्म उठाएको बताईन्छ । बांकीले भने निर्मातालाई उठ्न दिएन । डिमाण्ड हाई राख्ने तर निरन्तर निर्माता डुब्ने परिस्थीती रहने कलाकारलाई स्टार मान्न सकिएला र ? लगभग प्रोडक्सन बजेटको आधा रकम दावी गर्ने अनमोल किन उक्त फिल्मको पर्सेन्टेजमा बस्न डराउंछन् । संधै सिधै निर्माता डुबाउने कलाकारको यस्तो सस्तो स्टारडमले टिक्न सकिन्छ र ? तर यस्ता स्टारलाई आधा बजेट रकम खर्चेर किन निर्माता फिल्म बनाउंछन् बुझ्न गाह्रो छ । निर्माताले पत्याए पछि कलाकारको विक्री हुने स्टारडमनै हो । तर अनमोलका अहिलेसम्मका चलचित्रले खासै निर्माताको ओठमा खुशी दिलाउन सकेको छैन । फिल्मले राम्रो व्यापार गरेको स्वाद चाख्न निर्माताले खासै पाएका छैनन् । तर उनलाई भाग्यमानी ठान्नुपर्छ किनकी फिल्म जेजस्तो भएपनि उनको चर्चाको भने कमी छैन । तर निर्मातालाई चर्चा भन्दा व्यापारको कुराले अर्थ राख्छ । जुन उनको चलचित्रले दिन सकेको छैन । बलिउडका हस्ती कलाकार आमिर खानले चलचित्र स्टारडम र लगानीले मात्र फिल्म नचल्ने बताउने गरेका छन् । उनले पछिल्लो पटक कलाकारको स्टारडम बारे भनेका छन् स्टारडमले पहिलो दोस्रो दिनमात्र दर्शक तान्छन् बांकी दिन त कथानै राम्रो हुनुपर्छ । अरु नायकको भन्दा अनमोलको ब्यापार राम्रो भएको वितरकले बताउने गरेका छन् । एक वितरक भन्छन् अनमोल केसी भएको फिल्ममा ओपनिङ चै गजब हुन्छ जुन अरु नायकहरुको चलचित्रमा मुश्किल पर्छ ।

लोभीपापीको जालोमा अनमोल
फिल्म बजारमा अनमोलको स्टारडम बेचेर फिल्म निर्माण गर्ने आशा गर्ने लोभीपापीहरु निकै देखिन्छन् । अनमोललाई फिल्ममा साइन गराएर भनेको समयमा सुटिङ नगर्ने । अनि अनमोलको नाम लिएर स्पोन्सर र निर्माता खोज्दै हिंड्नेहरु बाट बच्न पनि अनमोल सतर्क भएको उनी निकट श्रोतले बताउने गरेका छन् । निर्माता उनको साइनिङ अमाउण्टमात्र लिएर चलचित्र बनाउन तम्सीन्छन्, मुख्य मुल बजेट भने हुंदैन त्यसैले उनि यस्तो अवस्थाबाट बच्न भटाभट साइन गरेका फिल्म छाड्छन् । भोली फिल्म फ्लोरमा जांदा शुटिङ रोकीनुपर्ने अवस्था आएमा अनमोल आफू कमजोर नदेखियोस् । बजेटको अभावमा कमजोर प्रमोशन नहोस् भन्ने अभिप्रायले पनि यसमा अनमोल सचेत बन्ने गरेका छन् । यति सोच्नु भर्खर स्टार हुंदै गएको एउटा कलाकारको लागि महत्वपूर्ण हुन्छ ।

सिक्वेलको लोभ
सबै साइन गरेका फिल्मलाई साइड लगाउंदै अनमोल अहिले होम प्रोडक्सनको फिल्म ‘एन्टि हिरो’मा फोकस छन् । तर उनमा एउटा लोभ भने प्रष्ट देखिन्छ । नयां फिल्ममा काम गर्दा जतिको च्यालेन्ज छ त्यसबाट बच्न पनि उनले सिक्वेल फिल्मको साथ लिदैछन् । फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज साइन गरेका छन् । एकपछि अर्को चलचित्र रिजेक्ट गरेका अनमोलले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’का लागि तयारी पनि थालेका थिए । तर, दर्शक र मिडियालाई सरप्राइज दिदै ‘ए मेरो हजुर ४’ साइन गरे । ‘ए मेरो हजुर’को चौथो सिरिजमै लोभिएका छन् । हिट सिरिज भएकाले पनि उनलाई यो फिल्ममा काम गर्दा बक्स अफिसमा चल्न सजिलो हुन्छ भन्ने थाहा छ । अनमोल बक्स अफिसमा असफल भएर क्रेज कमजोर बनाउन चाहँदैनन् ।

तर पनि अनमोल
युट्युवर अहिले कलाकारको अन्तवार्ता घरघरै पुगेर गर्न थालेका छन् । कलाकारको परिवारसंगै, खाना खाने किचनदेखी बेडरुमसम्म युट्युवमा देखाउन कलाकार हौसिएका छन् । उनीहरुलाई असरल्ल युट्युवमा दर्शकले हेर्न पाएका छन् । आफ्नो बेच्नुपर्ने श्रम कलाकारीतालाई विना पैसामा टिकटकमा प्रदर्शन गरिदिएका छन् । अब उनिहरुको फिल्ममा दर्शकले हेर्ने खासै केही बांकी हुंदैन । उनीहरुको आफ्नो सामान्य क्रेज पनि घटाएका छन् । तर त्यसमा अनमोल भिन्न छन् । अनमोललाई सामान्यतया जहां तहिं भेट्न मुश्किल हुन्छ । अरु कलाकार जस्तो उनी सहज छैनन् । दिनहुं जस्तो म्युजिक भिडियोमा आउने कलाकारहरु भन्दा उनि फरक छन् । भरसक उनी फिल्ममा मात्रै फोकस छन् । त्यसैले उनलाई हेर्न पनि हलसम्म दर्शक आउंछन् । उनले आफ्ना कुराहरु प्रति सदैव दर्शकमा उत्सुकता पस्कीरहेका छन् । उनले कलकारिताको आफ्नो ओझलाई जोगाईरहेका छन् । भरसक उनी भेटे जती सबै फिल्म साइन पनि गर्दैनन् । वर्षमा दुईवटा रिलिज हुनेगरी फिल्म गर्छन् । त्यसमै पूरै फोकस हुन्छन् । अनि पो उनीप्रति दर्शकको क्रेज छ । त्यसैले आफ्नो नाम अनमोल, सांचो अर्थमा बचाईरहेका छन् ।