फिल्म ‘दि कर्मा’ को गीत सार्वजनिक

माघ १७ गते बाट प्रदर्शनमा आउने फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ । गीतका रचनाकार मानस बिक्रम थापा हुन् । गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्ममा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।