सांस्कृतिक संस्थानले ल्यायो नयाँ कार्ययोजना

सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँ योजनाहरु सार्वजनिक गरेका छन् । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन मार्फत अबको १०० दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ
गौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाएका छन् । महाप्रबन्धक राईले हाल सांस्कृतिक संस्थान संगीन अवस्थाबाट गुज्रिरहेको बताउदै भने ‘अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो’ । स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारको सुन्दर संयोजनले संस्थान समृद्ध बन्ने महाप्रबन्धक राईले बताए । साथै उनले संस्थानको भविष्य उज्ज्वल रहेको तर्क गर्दै मौलिकता झल्काउँदै आधुनिकतालाई समेत आत्मसात् गरेर संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना अगाडी बढाइएको बताए ।

नेपालसँग कूटनीतिकसम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवं प्रबर्धनका लागि सांस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने, विभिन्न मुलुकसँग लोक संस्कृति आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्ने, सार्कस्तरीय सांस्कृतिक महोत्सव गर्ने, संस्थानका नियमित कार्यक्रम ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ आदिलाई निरन्तरता दिइने, लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान गरी प्रशिक्षण एवं प्रस्तुतिमार्फत उजागर गरिने, नयाँ तथा पुराना नाटक नियमित मञ्चन हुने उनले बताए ।

यस वर्षदेखि सातै प्रदेशमा प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले प्रशिक्षण दिँदै आएका नृत्य, अभिनय, गायन तथा वादन विधाका समयसापेक्ष पाठ्यक्रम  तयार गरी सीटीईभीटीबाट मान्यता प्राप्त गर्न पहल गरिने भएको छ । संस्थानमा डिजिटल शाखा स्थापना गरी ऐतिहासिक एवं महत्वपूर्ण दस्तावेज डिजिटलाइज गरी ई–लाइब्रेरी तयार गरिने महाप्रबन्धक राईले बताए । संस्थानको प्रेक्षालयमा हुने प्रत्येक कार्यक्रममा संस्थानको मर्म र भावनामा आँच नआउने गरी सरकारी एवं निजी क्षेत्रका व्यावसायिक टीभीसी प्रसारण शुरु गरिने पनि उनले बताए । संस्थानलाई प्रभावकारी र क्रियाशील बनाउन ‘थ्री इन वान’ प्रणालीका आधारमा काम गरिने, क्रियाशील कर्मचारी एवं कलाकारको मनोबल उच्च राख्न र मूल्यांकन गर्न दैनिक कार्य विवरण र मासिक प्रगति विवरण फारम लागू गरिने पनि उनले बताए ।

सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीले भाडामा लिएको संस्थानको भवनबारे अनगिन्ती जनगुनासो आइरहेकाले त्यसलाई न्यायका आधारमा समयसापेक्ष पुनरावलोकन गरिने राईले बताए । संस्थानको दायित्वमा रहेको वर्षौदेखीको करोडौं ऋणभारलाई क्रमशः घटाउँदै लगिने उनको भनाइ थियो । ‘जीवनभर काम गरेर अवकास लिएका कर्मचारीले खाली हात घर फर्कनु परेको छ’, महाप्रबन्धक राईले भने, ‘अब त्यो अवस्थाको अन्त्य हुने छ ।  पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धी एकमात्र चाहना भएको र संस्थानलाई बचाउनु सरकारको पनि दायित्व हो भने ।